समाचार

नेपालमा कोरोनाका कारण ५ हजार व्यक्ति संक्रमीत हुनसक्छन्ः विज्ञ

१३ जेठ काठमाडौं । नेपालमा कोरोनाभाइरस सङ्क्रमण हुने व्यक्तिको सङ्ख्या पाँच हजार सम्म पुग्ने नयाँ अनुमान गरिएको छ । त्यसअनुसार आवश्यक स्वास्थ्य सामग्रीको खरिद प्रक्रिया अगाडि बढाइएको अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार कोरोनाभाइरस परीक्षणका लागि अत्यावश्यक सामग्रीको बोलपत्र आह्वान गरिसकिएको छ ।

कोरोनाभाइरस नियन्त्रणका लागि खटिएको जनशक्तिका लागि आवश्यक हुने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), मास्क, पन्जा जस्ता सामान खरिदका लागि स्वीकृति दिइसकिएको छ । अहिलेसम्म पचार हजार भन्दा बढी नमुनाको पीसीआर विधिबाट परीक्षण भएको छ ।  

यसअघि सरकारले नेपालमा झन्डै १,५०० मानिसमा कोरोनाभाइरस सङ्क्रमण देखिन सक्ने अनुमान गर्दै त्यसैअनुसार परीक्षण किट लगायतका स्वास्थ्य सामग्रीको जोहो गरेको थियो । तर पछिल्ला केही दिनमा सङ्क्रमण बढेर ७ सय  को हाराहारीमा पुगेपछि अधिकारीहरूले सम्भावित सङ्क्रमणबारे नयाँ प्रक्षेपण गरेका हुन् ।

अहिले नेपालमा फेला परेका धेरै सङ्क्रमितहरू भारतबाट फर्किएका हुन् र उनीहरू सीमावर्ती जिल्लामा छन् । भरतबाट हजारौँको सङ्ख्यामा नेपालीहरू फर्किएका र अझै हजारौँ जना फर्किने क्रममा रहेका बेला यो प्रक्षेपण गरिएको हो । यसरी सङ्क्रमण बढ्न सक्ने अनुमानसँगै आवश्यक पर्ने स्वास्थ्य सामग्रीको पनि अभाव हुने देखिएको छ ।

त्यसलाई ध्यानमा राख्दै खरिद प्रक्रिया अगाडि बढाइएको स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्रराज डोटेलले बताए ।