पत्रपत्रिका

गड्डाचौकी नाकाबाट सोमबार ६ घन्टाको अवधिमा झण्डै ३ हजार नेपाली भित्रिय

१३ जेठ काठमाडौं । कञ्चनपुरको गड्डाचौकी नाका ५४ दिनपछि सोमबार खुलेको छ । १९ चैतदेखि बन्द भएको नाका खुलेको पहिलो दिनमै साढे दुई हजारभन्दा बढी नेपाल प्रवेश गरेका छन् । ६ घन्टाको अवधिमा दुई हजार सात सय ५४ जना नेपाल प्रवेश गरेका छन् ।

जिल्ला सुरक्षा समिति कञ्चनपुरको आइतबार बसेको बैठकले भारतमा अलपत्र परेका नेपालीलाई सोमबारदेखि गड्डाचौकीबाट प्रवेश गराउने निर्णय गरेको थियो । सोमबार साँझ ६ बजेसम्ममा साढे दुई हजारभन्दा बढी नेपाली सीमा क्षेत्रमा पुगेका छन् । सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीका गणपति वीरसिंह साहुले दिउँसो १२ देखि साँझ ६ बजेसम्ममा कञ्चनपुरसहित सुदूरका पहाडी जिल्ला, कर्णाली र प्रदेश ५ का बासिन्दा नेपाल भित्रिएको बताए । बनबासा हुँदै गड्डाचौकी पुगेकालाई सम्बन्धित जिल्ला र पालिकामा पठाइने उनले बताए ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले नेपाल प्रवेश गरेका सबैलाई खाना खुवाएर सोमबार नै सम्बन्धित पालिका र जिल्लामा पठाइने बताए । मंगलबार बिहान ८ देखि १० र साँझ ५ देखि ७ बजेसम्म अलपत्र नेपालीलाई भित्र्यायाइने उनको भनाइ छ । भारतबाट फर्किएका नेपाली नागरिकको भीमदत्त नगरपालिका, निड्स नेपाल र महेन्द्रनगरका युवा व्यवसायीले खाना, पानी, मास्कको व्यवस्थापन गरेका छन् ।

यस्तै भारतका विभिन्न सहरबाट हिँडेका नेपाली निकै दुःख र कष्टका साथ सीमा क्षेत्र आइपुगेका छन् । भारतबाट पैदलै, भोकभोकै आएको र नहरको फोहोर पानी पिउन बाध्य भएको उनीहरूको भनाइ छ । मातृभूमि टेक्दा युद्ध नै जितेर आएजस्तो लागेको उनीहरू बताउँछन् । बिन्दासैनी नगरपालिका–१ दैलेखका बालाराम आचार्य लुवाघाटमा मजदुरी गर्थे । उनी पैदलै टनकपुर पुगेका थिए ।