कर्णाली प्रदेश

हिमाली जिल्लाका नागरिक उत्पादनमा व्यस्त

सोलुखुम्बु, १२ जेठ । लकडाउनका कारण अधिकांशको जनजीवन अस्तव्यस्त बनेको छ तर हिमाली जिल्ला सोलुखुम्बुवासीलाई भने लकडाउनले खासै प्रभाव पारेको छैन । लकडाउनको समयले यहाँका मानिसलाई थप सिर्जनशील बनाएको स्थानीय नागरिकको भनाइ छ ।

विगत दुई वर्षदेखि अध्ययनको सिलसिलामा काठमाडौँ बस्दै आएका महाकुलुङ गाउँपालिका पेल्माङका सुरेश कुलुङ अहिले गाउँघरमै भेटिन्छन् । उनि यतिबेला गफ गर्नेसम्म फुर्सद नभएको बताउछन् । राजधानी पसेपछि गाउँघर भुलिसकेका कुलुङलाई कोभिड–१९ ले पुनः गाउँनै आउन बाध्य बनाएको सुनाउछन् । माध्यमिक तहसम्मको अध्ययन गाउँमै पूरा गर्नुभएका सुरेशलाई अहिले बाबुबाजेको पेशा कृषि कर्मले व्यस्त बनाएको छ । दिन प्रतिदिन लकडाउन बढ्दै गएपछि समयको सदुपयोग गर्न धेरैलाई सकस भइरहेको भए पनि आफ्नो लागि यो समय उपलब्धिमूलक बनेको उनको भनाइ छ ।

महाकुलुङका सुरेशलाई मात्र होइन सोलुखुम्बुको अधिकांश गाउँका मानिसलाई लकडाउनको बेला न त समय बिताउन समस्या छ न त अन्य कुनै कुराको । माप्य दूधकोशी काकुका ल्हाक्पा तामाङ पनि तीन वर्ष मलेशिया बसेर केही महिना अगाडि मात्रै गाउँ आएको बताउछन् । वैदेशिक रोजगारीमा हुँदा बाँझो बनेको उनको खेतीयोग्य जमीनमा विभिन्न तरकारी तथा फलफूलको बिरुवाले भरिन थालेको छ । अम्बा, कफी, खुर्सानी, चियाजस्ता बोट बिरुवा रोप्ने, अन्य खेतीबाली गोडमेल गर्दै लकडाउनको समयको सदुपयोग गरेको उनको भनाइ छ ।

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या थपिँदै गएपछि लकडाउनको समयावधि पनि पछिल्लो समय जेठ २० गतेसम्म थपिएको छ । विभिन्न पेशा व्यवसायका लागि जिल्लाबाहिर रहेका नागरिकलाई यहाँका आठवटै स्थानीय तहले उद्धार गरी गाउँ ल्याएको छ । उनीहरुको जनजीवन कस्तो होला भन्ने धेरैलाई चासो र चिन्ता छ तर उनीहरु गाउँमा आएर कृषि कर्ममा व्यस्त भएको बताउछन् ।

“लकडाउनमा गरिएको लगानीले भोलिका दिनमा आफैँलाई सहज हुन्छ”, काठमाडौँबाट आएर कृषिमा व्यस्त भएका सोलुखुम्बु लोखिमका खेमप्रसाद राईले भने, “भोकमरीको सङ्केत देखिँदै छ, भारतले नाकाबन्दी गर्छ रे भन्छन् त्यसैले यो बेला सबैले मेहनतका साथ खेतीपाती गर्नुको विकल्प छैन ।” जिल्लाको अधिकांश गाउँको खेतीयोग्य जमीन बाँझो मात्रै भएन पुख्र्यौली पेशासमेत लोप हुँदै गएको बताइन्छ । आरन, भेडापालन, राडीपाखीलगायतको पुख्र्यौली पेशासमेत लोप हुँदै गएकाले यसको संरक्षण गर्नुपर्ने आवाजसमेत उठिरहेको छ ।

करिब सात वर्षदेखि वैदेशिक रोजगारमा समय बिताउनुभएका सोलुदूधकुण्ड नगरपालिका–५ का सुब्बे विक पनि अहिले घरैमा छन् । यतिबेला उनि पनि पुख्र्यौली पेशा तामाको डाली बनाउने काममा व्यस्त रहेको बताउछन् । सोलुखुम्बुको मुख्य कोसेलीका रुपमा प्रयोग गरिने तामाको डालीको माग धान्न नसको विक लकडाउनलाई अवसरका रूपमा लिन्छन् ।

“जिल्लाका प्रतिष्ठित व्यक्ति होस् या जोकोहीलाई कोसेली पठाउन हाम्रै हातले बनाएको डाली पहिलो रोजाइमा पर्छ”, उनले भने, “अहिले निर्माण गरेको डालीले लकडाउन खुलेपछिको मागलाई धान्न सजिलो हुन्छ ।” यद्यपि कच्चा पर्दा अभाव हुने सङ्केत देखिएकाले उनि चिन्तित बनेका छन् । उनको बुबाले समेत यो पेशालाई छाडेका छैनन् । उनिजस्तै अन्य व्यक्ति पनि लकडाउनको समयमा त्यतिकै बसेका छैनन् । उनीहरू पनि आरनको काममा व्यस्त रहेको बताउँछन् ।

यो समयमा घरबाट बाहिर निस्कनुभन्दा घरभित्रै बस्नु र सुरक्षित रहनुको विकल्प नभएको चिकित्सकको भनाइ छ । गाउँघरमा भीडभाड नगरिकन खेतबारीमा पनि सामाजिक दूरी कामय राखी काम गर्दा त्यसले कुनै पनि असर नगर्ने सोलु हेल्थ केयर सेन्टर सोलुखुम्बुका प्रबन्ध निर्देशक डा राजेन्द्र बस्नेतको भनाइ छ । खेतबारीलाई समेत क्वारेनटाइनका रूपमा लिन सकिने भएकाले यो समयमा त्यतिकै बस्नेभन्दा पनि सिर्जनात्मक काम गर्नुपर्ने उनको सुझाव छ । शहर बजारबाट गाउँ केन्द्रित भएका युवाशक्तिलाई प्रयोग गर्ने सुनौलो अवसर लकडाउन भएकाले स्थानीय सरकारले समेत सोहीअनुसारको कार्यक्रम निर्माण गर्नुपर्ने उनको सुझाव छ ।