लुम्बिनी

इदले प्रेम र विश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छः मुख्यमन्त्री पोेखरेल

बुटवल, १२ जेठ । मुख्यमन्त्री शंकर पोखरेलले सांस्कृतिक विविधता भएको मुलुक नेपालमा मनाइने सांस्कृतिक उत्सव र पर्वले समाजमा सद्भाव, भ्रातृत्व र मेलमिलापको वातावरण बनाएको बताएका छन् । मुख्यमन्त्रीले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल फित्र (इद) का अवसरमा आज दिएको शुभकामना सन्देशमा इद पर्वले समाजमा प्रेम र विश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गरेका छन् ।

मुख्यमन्त्री पोखरेलले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले अल्पसंख्यक मुसलमान समुदायको उत्थान र विकासका लागि मार्गप्रशस्त गरेको बताउँदै संविधान कार्यान्वयन हुँदै जाँदा सबै समुदाय, वर्ग र जातिले व्यावहारिक रुपमा प्राप्त अधिकारको उपभोग गर्दै जाने विश्वास व्यक्त गरेका छन् ।

उनले कोरोना भाइरसको संक्रमणबाट जोगाउन तीनै तहका सरकार स्पष्ट कार्ययोजनासहित समन्वय र सहकार्य गर्दै अघि बढेको बताउँदै जोखिम न्यूनीकरणका लागि सरकारले गरेका निर्णय कार्यान्वयन गर्न नागरिकको साथ महत्वपुूर्ण हुनेमा जोड दिएका छन् ।

मुख्यमन्त्री पोखरेलले कोरोनाविरुद्धको संघर्षलाई जित्न सबैले सामाजिक दूरी कायम गर्दै दिनचर्या अघि बढाउन आवश्यक रहेको स्मरण गराउँदै इद पर्व पनि सामाजिक दूरी कायम गरी मनाउन मुसलमान समुदायमा आग्रह गरेका छन् ।