बाग्मती

भरुवा बन्दुक पड्किँदा बालकको मृत्यु

मेलम्ची, १२ जेठ । सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ किप्चेका आठ वर्षीय बालक आयुष स्याङ्बो तामाङको भरुवा बन्दुक पड्किँदा ज्यान गएको छ । आइतबार दिउँसो सोही ठाउँका अर्का १२ वर्षका बालकले आफ्नै घरमा लोड गरिराखेको भरुवा बन्दुक झिकी घरको पिँढीमा सँगै खेल्ने क्रममा अचानक भरुवा बन्दुक पड्किन गई स्याङ्बोको घटनास्थलमै मृत्यु भएको हो ।

उनको पेटमा गोली लागेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिएका छन् ।

चोरीको स्कुटीसहित दुई पक्राउ

काठमाडौँबाट हराएको स्कुटी मेलम्चीमा भेटिएको छ । काठमाडौँ महानगरपालिका–५ गौचरनबाट हराएको स्कुटी आइतबार प्रहरीले चेकजाँच गर्ने क्रममा मेलम्चीमा भेटिएको हो । प्रदेश ३–०२–००१प १९२७ नं को स्कुटीलाई मेलम्चीमा प्रहरीले रोकी जाँच गर्दा उक्त स्कुटी चोरीको भएको थाहा भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिएका छन् ।

चोरीको भनी शङ्का लागेर ट्राफिक महाशाखा रामशाहपथमा बुझ्दा उक्त स्कुटी मिति २०७६ माघ १६ मा काठमाडौँ गौचरनमा रहेको ग्यास र पानी आपूर्ति पसल अगाडिबाट हराएको तामाङले जानकारी दिएका छन् । स्कुटी काठमाडौँ–३० बस्ने प्रभात थापाको भएको बुझिएको छ । स्कुटी चलाएर हिँड्ने मेलम्चीका २३ वर्षीय अच्युत श्रेष्ठ र विकास तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । निजहरुलाई महानगरीय प्रहरी वृत्त मालीगाउँ काठमाडौँमा आवश्यक कारवाहीका लागि पठाउने तयारी गरिएको छ ।