पु.समाचार

वीरगञ्जमा एकै परिवारका १८ जनाले जिते कोरोनाः आईतबार राति डिस्चार्ज

१२ जेठ काठमाडौं । वीरगञ्जमा एकैदिन १८ जनाले कोरोना संक्रमण जितेका छन् । अस्पतालका डा उदयनारायण सिंहका पछिल्ला दुई पटकको रिपोर्ट नेगेटिभ आएपछि एकै परिवारका १८ जना सदस्यलाई डिस्चार्ज गरिएको छ ।

वीरगञ्ज नारायणी उपक्षेत्रीय अस्पतालबाट आईतबार राति वीरगञ्ज महानगरपालिका–३ छपकैयाका एकै परिवारका ४ महिने शिशु देखि ६६ वर्षका बृद्धलाई डिस्चार्ज गरिएको हो ।

गत वैशाख २१ गते एक युवकमा कोरोना संक्रमण पुष्टि भएपछि उनका परिवारका सदस्यहरुको परीक्षण गरिएको थियो । परीक्षणका क्रममा उनको परिवारका १७ जना सदस्यमा वैशाख २४ गते संक्रमण पुष्टि भएको थियो ।

आइतबार राति १८ जना निको भएर घर फर्किएसँगै नारायणी र गण्डक कोभिड अस्पतालमा गरी ७२ जना संक्रमित उपचाररत छन् । पर्साका एक जना संक्रमित भने बाराको कलैया अस्पतालमा उपचाररत छन् । आइतबार तीन जना संक्रमित थपिएसँगै पर्सामा कोरोना संक्रमितको संख्या ९४ पुगेको छ । यो सँगै नेपालमा डिस्चार्ज हुनेको संख्या १०५ पुगेको छ।