विचार/ब्लग

कोरोनाको समयमा बालबालिकालाई अभिभावकले सिकाउनुपर्ने डा सुवेदीको टिप्स्

डा. प्रकृति सुबेदी/ कोभिड–१९ संक्रमणका कारण हाल नेपालमा पनि मानिसको ज्यान लिन शुरु गरेको छ । यो अवस्थामा अभिभावकलाई आफु र आफ्ना बालबालिकाको सुरक्षा कसरी गर्ने भन्ने कुराको जानकारी हुनु महत्वपूर्ण हुन्छ । बालबालिकालाई सुरुमा कोभिड –१९ के हो ? भन्नेबारेमा सिकाउनु राम्रो हुन्छ । त्यसपछि यो रोगबाट कसरी बच्ने बारेमा सिकाउनुहोस् ।

नोबेल कोरोना/कोभिड १९ एक नया प्रजातिको भाइरस हो । यस रोगको औषधी अहिलेसम्म पत्ता लागेको छैन । रोग लागि हाल्यो भने लक्षण अनुसारको उपचार मात्रै गर्ने हो । कुनै व्यक्तिको रोग प्रतिरोधात्मक शक्ति कमजोर छ भने त्यस्ता व्यक्तिमा संक्रमण र असर बढी पाइएको छ । त्यसैले यो रोग लागेर उपचार गर्नुभन्दा रोगै लाग्न नदिनु सबै भन्दा उत्तम उपाय हो । त्यसैले सरकारले लकडाउन र क्वारेन्टिनको ब्यबस्था गरेको कुरालाई हामी सबैले पालाना गर्नुमा नै सबैको भलाइ हुन्छ । यो हामी सबैको जिम्मेवारी हो भनेर बालबालिकालाई पनि सबै अभिभावकले सिकाउनु अनिवार्य छ ।

यो रोग कसरी सर्छ–
संक्रमित मानिससँग प्रत्यक्ष सम्पर्कमा हुँदा, रोग लागेको व्यक्तिले खोक्दा, हाच्छ्यु गर्दा निस्कने सुक्ष्मथोपाहरुबाट र उनीहरुले चलाएको वा छोएको सतह र बस्तुहरु, समानहरु लुगाफाटाहरु, भाडाकुडाहरु, साबुनहरु छुदा, जुठो खादा, हात मिलाउदा, म्वाई खादा यो रोग सर्नसक्छ । कोभिड – १९ संक्रमितले प्रयोग गरेको टोइलेट र बाथरुम प्रयोग गर्दा पनि यो सर्नसक्छ । रुघाखोकी लागेको ब्यक्तीबाट टाढै बस्नुपर्छ । उसको संसर्गमा बस्नुहुदैन । किनकी कोभिड – १९ रोगको सुरुवात रुहखोकी, ज्वोरोबाट नै हुन्छ । त्यसैले रुघाखोकी लाग्दा बिशेष ध्यान दिनुपर्छ ।

यो रोगबाट जोगिने उपाय–
यस रोग लागेका मानिसहरुलाई छुटै राखिन्छ । उसको संसर्गमा जानुहुदैन । क्वारेन्टिनमा बसेका मानिसहरुसंग पनि नजिक जानु हुदैन । आइसोलेसनमा भएका बिरामीहरुको पि सी आर टेस्ट नेगेटिब रिपोर्ट आएपछि मात्र घर पठाईन्छ । क्वारेन्टिनमा बसेकाको पनि पि सि आर टेस्ट नेगेटिभ र १४ दिन पुरा क्वारेन्टिनमा बसेको हुनुपर्छ र त्यसपछि मात्र घर पठाइन्छ । सतहका किटाणुहरु जीवाणुनाशक औषधीको प्रयोगले मर्न सक्छन् । त्यसैले समय समयमा सरकार र कतिपय सस्थाहरुले यो जीवाणुनाशक औषधी छरेको देखिन्छ । यो रोग नाक, मुख र आँखाको माध्यमबाट मानिसको शरीरमा प्रवेश गर्छ । प्रायजसो मानिसहरुको बानी हातले नाक, मुख र आँखा छुने हुन्छ । त्यसैले यो बानी हटाउनु आवश्यक छ । यसको बारेमा बालबालिकालाई राम्रोसँग बुझाउनुपर्छ । बालबालिकाले झन बढी नै नाकमा हात लैजाने बानी हुन्छ । त्यो बानी सुधार्न लगाउनुपर्छ ।

अभिभावकले ध्यान दिनुपर्ने अन्य कुराहरु–
यदि बालबालिकालाई खोप लगाउनु छ भने समयमा स्वस्थसंस्थामा सम्पर्क गरि लगाउनुपर्छ । नजिकैको खोपकेन्द्रमा पहिला खोप लगाउने मिति र समय बुझेर मात्र घरबाट बाहिर निस्किनुपर्छ । अभिभावकले घरमै पकाएको, कम चिल्लो भएको स्वस्थ खानेकुरा खुवाउनु राम्रो हुन्छ । बाहिरको खानेकुरा र जंक फुडहरु नदिनु राम्रो हुन्छ । स्कुल नगए पनि नियमित समयमा सुत्ने, उठ्ने गराउनुपर्छ । सकेसम्म बालबालिकालाई इनडोर गेम खेललाउनु राम्रो हुन्छ जस्तैः– लुडो, क्यारमबोर्ड, उनो, चेस, स्किपीङ इत्यादी । खेल संगै पढ्ने समय र वातावरणको सिर्जना गर्नु उत्तम हुन्छ । जस्तै कथाको किताबहरु पढ्ने, कोर्सका किताबहरु पढ्ने, पत्रिकाहरु पढ्ने, कविता लेखने वा वाचन गर्ने, चित्रहरु बनाउन सिक्ने, डान्स गर्न सिक्ने, गीत गाउने, गितार/ किबोर्ड /मादल बजाउन सिक्ने, गमलामा फुल रोप्न सिक्ने, भान्सा कोठामा सहयोग गर्न सिकाउने गर्नुपर्छ । टि.भि हेर्ने उचित समय तोकी ठिक समयमा मात्र हेर्ने बानी बसाल्नुपर्छ । मोबाइलको प्रयोग बच्चाहरुमा एकदमै कम गर्नुपर्छ, सकेसम्म नदिनुनै राम्रो । आफुले लगाएको लुगा आफै धुन प्रोत्साहन गर्ने (क्षमता अनुसार) योगा तथा ब्यायम गर्न सिकाउने गर्नुपर्छ । बाबुआमाले आफ्ना बालबालिकालाई समय दिने बानी बसाल्नुहोस् । उनीहरुसंगै खेलमा रमाइदिनुहोस् खेलिदिनुहोस । कुनै पनि सार्बजनिक ठाउँहरुमा बालबालिकालाई नलैजानुहोस् र जान पनि नदिनुहोस् ।

उनीहरुलाई समय समयमा साबुन पानीले कसरी हात धुने बारेमा सिकाउनुहोस् । थोरैमा पनि २० सेकेन्ड सम्म साबुन पानीले मिचिमिची हात धुनुपर्छ भनेर आफुले पनि गरेर देखाउनुहोस् । मास्कको कसरी प्रयोग गर्ने बारेमा पनि सिकाउनुहोस् र प्रयोग गरिसकेको मास्क, टिस्यु पेपर जहँपिायो त्यही नफाली डस्टबिनमा फाल्न लगाउनुहोस् । स्यानीटाईजर कति बेला कस्तो समयमा प्रयोग गर्नुपर्छ भनेर सिकाउनुहोस् । यदि साबुनपानीको ब्यबस्था छैन भने मात्र स्यानीटाईजरको प्रयोग गर्नुपर्छ । यदि हातमा माटो लागेको छ र फोहोर छ भने साबुन पानीले नै हात धुनुपर्छ । भान्सा कोठामा काम गर्दा स्यानीटाईजरको प्रयोग नगर्ने । किनभने यसमा अल्कोहोल मिसिएको हुने भएकोले आगो छिटो टिप्छ । कतिपय बालबालिकाले पनि भान्सा कोठामा काम गर्न सक्छन् । त्यसैले उनीहरुलाई यो जानकारी हुनुपर्छ । अहिले कतिपय ठाउँमा स्यानीटाईजरको उचित प्रयोग नभएको देखिएको छ । साबुन पानीले हात धुनु अति राम्रो र सस्तो उपाय हो । यसरी हात धोई राख्ने बानीले अन्य सरुवा रोगहरु, झाडापखालाबाट पनि बच्न सकिन्छ । त्यसैले हात धुने बानी अत्यन्तै फाइदा जनक छ भनेर बालबालिकालाई सिकाउनुहोस् ।

बालबालिका बिरामी हुँदा के गर्नेः–
साधारण रुघाखोकी लाग्दा घरमै बस्ने, तातो पानी, दालको झोल, सुप पियाउने गर्नुहोस् । यदि ६ महिना भन्दा सानो बच्चा छ भने आमाको दुध अरु बेला भन्दा बढी चुसाउने गर्नुहोस् । बच्चालाई सफा राख्नुहोस् । कोठा घुम्सएर नराख्नुहोस् । दिशा पिशाब गरेको छ की बेलाबेलामा चेक गरेर न्यापी फेरिराख्नुहोस् । नत्र भिजेको न्यापिले बच्चालाई झन् चिसो लाग्छ । सुतिको लुगा टम्म घाटी छोपिने गरी लगाईदिनोस । नाक बन्द जस्तो छ भने सानो सफा रुमालले नाक सफा गरिराख्नुहोस् ।

अलि ठुलो बालबालिका छ भने चिसोबाट बचाउनुस् । चिसो खानेकुरा खान नदिने, चिसोमा खेल्न नदिने ,धारामा गएर लुगा भिजाउन नदिनुहोस् । झोल कुराहरु बढी ख्वाउने जस्तो – दाल, गेडागुडी, हरियो तरकारीको झोलहरु, ढुध, जाउलो, प्रसस्त मात्रामा घरमै बनाएको खानेकुराहरु खुवाउने बानी गर्नुहोस् । बच्चाले खान नमाने पनि फकाएर खुवाउनुपर्छ । पोषिलो खानेकुरा खुवायो भने कति रोगहरु आफैं ठिक हुन्छन् । त्यसैले पोषिलो खानेकुरामा बढी जोड दिनुपर्छ । यदी बच्चालाई ज्वरो आयो भने थर्मोमिटरले नाप्ने र यदी १०० डिग्री फरेनहाईट वा त्यसभन्दा भन्दा माथि छ भने सिटामोल औषधि चिकित्सकको सल्लाह अनुसार ख्वाउने वा आफुले चिनेको चिकित्सक ÷ स्वास्थ्यकर्मीलाई फोन वा इन्टरनेटबाट सोधेर कति मात्रा खुवाउने सो सोधेर खुवाउन सक्नुहुन्छ । धाराको पानीमा सुत्तिको कपडा भिजाएर मज्जाले निचोरेर पानीपट्टी लागाईदिनुहोस् । बढी ज्वरो आएमा, बच्चालाई श्वास फेर्न गार्हो भएमा, छिटो छिटो श्वास फेरेमा, दुध चुस्न छोडेमा, कोखा हानेमा, तुरुन्तै नजिकैको स्वस्थ सस्थामा लैजानुहोस् ।

बच्चालाई पातलो दिशा भएमा जीवन जल वा अन्य झोल कुराहरु बढी खुवाउनुहोस् । जति पटक दिसा भयो त्यति पटक जीवनजल खुवाउनुहोस् । ६ महिना भन्दा सानो बच्चालाई आमाको दुध प्रसस्त मात्रामा खुवाउनुहोस् । तर बच्चा कम्जोर भएमा, दुध चुस्न छोडेमा, बच्चा आलस्य भएमा, दिसामा रगत देखिएमा तुरुन्त साबधानीसाथ अस्पताल वा नजिकैको स्वस्थचौकी जानुहोला । मास्क लगाउने, भिडभाडमा नजाने, मानिसहरुसंग कम बोल्ने, आवश्यक परेको बेला मात्र बोल्ने र उभिदा वा बस्दा १ मिटरको दुरीको फरक राख्ने, हातले यताउता नछुने गर्नुपर्छ । अस्पतालमा पनि हात धुनलाई साबुन पानीको ब्यबस्था हुन्छ । समय समयमा हात धुनुहोस्, तपाइको लागि पनि राम्रो हुन्छ । यदि हात धुन सक्ने बच्चा छ भने उसलाई पनि हात धुन लगाउनुहोस् ।

यदि तपाइको परिवारमा कोहि सदस्य बाहिरबाट आउनुभएको छ भने कुन ठाउँबाट कहिले आउनुभएकको चितिक्सकलाई बताउनुपर्छ । जस्ले गर्दा चिकित्सक वा स्वस्थ्यकर्मीले तपाई र तपाइको बच्चालाई उपचार गर्न मदत पुग्छ । यसरी बच्चाको हरेक समस्या वा गतिविधि बताईदिनु भयो भने चिकित्सक वा स्वास्थ्यकर्मीलाई हजुरहरुको बालबालिकालाई उपचार गर्न सजिलो हुन्छ । आफ्नो काम सकिने बित्तिकै घर फर्कनुहोस् । घरमा आउने बित्तिकै हात मुख खुट्टा धोइहाल्नुपर्छ सकिन्छ भने नुहाएर लुगा फेर्दा झन् राम्रो हुन्छ । अस्पतालबाट औषधि लिने क्रममा औषधि कसरी खुवाउने, कति मात्रा, कहिलेसम्म, सबै कुरा राम्रोसँग बुझेर आउनुपर्छ र औषधी नियमित खुवाउनुपर्छ । बीचमा केहि सोधपुछ गर्नु परेमा चिकित्सक वा स्वस्थ्यकर्मीसँग फोनबाट सम्पर्क गर्न सक्नुहुन्छ ।

(फेदीखोला-२, स्याङ्जाकी डा.  सुबेदी, हाल लालगढ़.१० मि. न. पा.१० लालगढ़ अस्पतालमा कार्यरत छन्)