पु.समाचार

एनआरएनएले दियो भरतपुर महानगरलाई व्यक्तिगत सुरक्षा सामग्री

११ जेठ, काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का तर्फबाट भरतपुर महानगरलाई स्वास्थ्यसँग सम्बन्धित व्यक्तिगत सुरक्षालगायत अत्यावश्यक सामग्री उपलब्ध गराइएको छ । एनआरएनएका सहकोषाध्यक्ष लोकप्रसाद दाहालको पहलमा सचिव गौरी जोशी अमेरिका र आरके शर्मा कतारका तर्फबाट महानगरलाई स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरिएको हो । ती सामग्री रु सात लाख ३३ हजारबराबरका छन् ।

सहकोषाध्यक्ष दाहालका अनुसार १०० थान पिपिइ , एन ९५ मास्क ५०० र लेजर गन २५ थानलगायत सामग्री उपलब्ध गराइएको जानकारी दिए। विश्वव्यापी विपद्का रुपमा देखिएको कोरोना भाइरससँग जुुध्नका लागि नेपाली हुनुको हैसियतले सङ्कटको समयमा सहयोग उपलब्ध गराइएको उनको भनाइ छ ।

विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने नेपाली ११७ पुगेका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अनुसार यो साता थप २१ नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् । बेल्जियमबाट रासससँग टेलिफोनमा कुरा गर्दै दाहालले युरोपमा कोरोनाको सङ्क्रमणको दर क्रमशः कम हुँदै गएका कारण जनजीवन सामान्य हुनेतर्फ केन्द्रित रहेको जानकारी दिए । उनले क्रमशः पसल तथा रेष्टुराँ खुल्ने क्रम शुरु भएको छ । होटलमा भने पाहुना नभएका कारण उस्तै समस्या रहेको छ ।

क्रमशः जनजीवन सामान्य अवस्थामा फर्काउने तयारीका साथ काम भइरहेको र नेपालीको अवस्थाबारेमा एनआरएनएले क्रमशः तथ्याङ्क सङ्कलन गरी राहत तथा अन्य सहयोग उपलब्ध गराइरहेको छ । बेल्जियम सरकारले एनआरएनएलाई १० हजार युरोबराबरको राहत उपलब्ध गराएका कारण समस्यामा परेका नेपालीलाई सहज भएको छ । यस्तै स्पेन र इटालीले पनि क्रमशः पाँचरपाँच हजार युरोबराबरको राहत उपलब्ध गराएको छ ।

उनका अनुसार युरोपका विभिन्न देशले सामाजिक दूरी कायम राख्न, मास्क, पञ्जालगायतका व्यक्तिगत सुरक्षा सामग्री लगाएरमात्रै बाहिर निस्कन कडा निर्देशन दिएको छ । मास्क र पञ्जा नलगाई हिँड्नेलाई पक्राउ गरी कारवाही गर्ने र जेलसमेत हाल्ने चेतावनी दिएको छ । विशेषगरी साइप्रस, माल्टालगायत देशमा भने सबैभन्दा बढी मारमा विद्यार्थी र कामदार परेको जानकारी आएको उनले बताए ।

केही मुलुकले त नेपाल फर्कन चाहने भए सहजीकरण गरिदिन विद्यार्थीलाई आग्रहसमेत गरेका छन् । लकडाउन खुले पनि तत्काल काम पाउने अवस्था नभएका कारण कामदार प्रवेशाज्ञामा पुगेका र विद्यार्थीका लागि भने समस्या पर्ने देखिएको छ । बेलायतबाहेक अन्य देशमा नेपाली सङ्क्रमित भए पनि मृत्युको अवस्था भने न्यून रहेको र सङ्क्रमित पनि क्रमशः निको भएर आफ्नो निवास फर्किसकेको अवस्था रहेको उहाँले जानकारी दिए ।

नेपाल फर्कन चाहने विद्यार्थी तथा कामदारको तथ्याङ्क सङ्कलन गर्न नेपाल सरकारले गरेको आग्रहअनुसार आफूहरु सो काममा समेत खटेको सहकोषाध्यक्ष दाहालले जानकारी दिए । यसअघि दाहालले नै पोर्चुगल र स्पेनमा रहेका नेपालीलाई व्यक्तिगन पहलमा नै सुरक्षा सामग्री तथा मेडिकल मास्कसमेत उपलब्ध गराएका थिए।

एनआरएनका अनुसार संयुक्त अरब इमिरेट्समा नौ, साउदी अरबमा पाँच, बेलायत र नेपालमा दुईरदुई तथा संयुक्त राज्य अमेरिका, कतार र कुवेतमा एकरएक नेपालीको यो साता निधन भएको हो । एनआरएन स्वास्थ्य समितिले सङ्कलन गरेको तथ्याङ्ककानुसार सबैभन्दा बढी बेलायतमा ६५ गैरआवासीय नेपालीको मृत्यु भएको छ । समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार युएइमा १८ नेपालीको निधन भएको छ ।

त्यस्तै अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या १६ पुगेको छ । यसैगरी साउदी अरबमा सात, नेपालमा तीन तथा कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड्स, बहराइन, स्विडेन, कतार र कुवेतमा एकरएकजनाको मृत्यु भएको एनआरएन, कोभिड–१९, उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।