प्रदेश 1

सङ्क्रमित खोटाङका एक युवकका परिवारसहित ४३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

१० जेठ, खोटङ । कोरोना सङ्क्रमित खोटाङका एक युवकका परिवारसहित ४३ जनाको पिसिआर रिपोर्ट नेटेटिभ आएको छ ।

काठमाडौँबाट गत वैशाख–१२ गते उद्धार गरेर ल्याइएका हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका २० वर्षीय युवकलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि उनका आठजना परिवार, उनीसँगै बसमा आएका व्यक्ति, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतको स्वाब सङ्कलन गरेर परीक्षण गर्न विराटनगर पठाइएकामा सबैको रिपोर्ट नेगेटिभ आएको हलेसी तुवाचुङ नगरप्रमुख इवन राईले जानकारी दिनुभयो ।

“काठमाडौँबाट उद्धार गरेर ल्याइएकामध्ये ३३ जनाको स्वाब सङ्कलन गरेर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकामा एक युवकको पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो”, उहाँले भन्नुभयो, “एकजनाको रिपोर्ट पोजेटिभ आएसँगै अन्य व्यक्तिमा पनि कोरोना भाइरसको सङ्क्रमण भए÷नभएको यकिन गर्न सङ्क्रमित युवकसँग प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्कमा पुगेका ४३ जनाको स्वाब सङ्कलन गरेर परीक्षण गर्न पठाइएकामा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।”

जिल्लामा एक युवकमा सङ्क्रमण भेटिएपछि सङ्क्रमित युवकसँग सम्पर्कमा पुगिसकेका अन्य व्यक्तिको पनि पहिचान गरेर पिसिआर परीक्षण गर्न कन्ट्र्याक्ट ट्रेसिङको काम भइरहेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।
बन्दाबन्दीको मारमा परेका स्थानीय बासिन्दालाई हलेसी नगरपालिकाले उद्धार गरेर गाउँ ल्याउने क्रममा राई थरका युवक बा४ख २२११ नंको बसमार्फत गाउँ आएका थिए । सो बसमार्फत ५१ जना यात्रा गरेर जिल्ला आएकामा उनीसहित ३८ जना सोही नगरपालिका भित्रिएका वडाध्यक्ष चइन्द्र राईले जानकारी दिए ।

काठमाडौँस्थित पेप्सीकोला बसेर एक फाइनान्समा काम गर्दै आएका उनी होम क्वारेन्टाइनबाट निस्किएपछि गाउँकै आहाल निर्माण, खानेपानीको ट्याङ्की सरसफाइलगायतका सामाजिक काममा खटिएका थिए । आहाल खन्ने क्रममा १२ जना र ट्याङ्की सफा गर्दा १५ जनाभन्दा बढी छिमेकीसँग उनको प्रत्यक्ष सम्पर्क भएको जनाइएको छ ।

सङ्क्रमित युवकसँगै एउटै बसको सिटमा यात्रा गरेर आएका व्यक्तिको पिसिआर रिपोर्टसमेत नेगेटिभ आएको जिल्ला अस्पताल मेडिकल अधिकृत डा शैलेस श्रेष्ठले जानकारी दिए। “अहिलेसम्म सङ्क्रमित युवकको स्वास्थ्यमा कुनै समस्या देखिएको छैन”, उनले भने, “सङ्क्रमण देखिएलगत्तै आइसोलेशनमा राखिएका उनको मङ्गलबारदेखि विराटनगरस्थित कोरोना अस्पतालमा उपचार भइरहेको छ ।”

गाउँमा हुने सामाजिक काममासमेत सक्रिय युवकमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै नगरपालिकालाई अनिश्चितकालीन बन्द गरिएको छ । हलेसीमा हिँडडुल गर्न, सवारी साधन चलाउन तथा एक वडाबाट अर्को वडा आवतजावत गर्न पूर्णरुपमा रोक लगाइएको हो ।

बन्दाबन्दीको कारण घर फर्कन नपाएर अलपत्र परेका नगरवासीलाई गत वैशाख १२ र १३ गते नगरपालिकाले २५ वटा रिजर्भ गाडी पठाएर एक हजार ३१८ जना उद्धार गरेर ल्याएको थियो । नगरपालिकाले ल्याएका नगरवासीलाई अनिवार्यरुपमा १४ दिनसम्म होम क्वारेन्टिनमा बस्नेगरी १० बुँदे प्रतिवद्धता गराएको थियो ।