खेलकुद

युनियन बर्लिनमाथि हर्थ बर्लिनले निकाल्यो ४–० को फराकिलो जित

१० जेठ काठमाडौं । जर्मन बुन्डेसलिगा अन्तर्गत गएराति भएको खेलमा युनियन बर्लिनमाथि हर्थ बर्लिनले ४–० को फराकिलो जित निकालेको छ। ओलम्पिया स्टेडियममा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरी भएको थियो। खेलमा हर्थले सबै गोल दोस्रो हाफमा गरेको थियो।

खेलको ५१ औं मिनेटमा वेडाद इबिसेबिकले गोल गर्दै हर्थलाई अग्रता दिलाएका थिए। त्यसको अर्को मिनेटमै डोबी लुकेबाकियोले गोल थप्दै अग्रता दोब्बर बनाए। घरेलु टोलीका लागि खेलको ६१ मिनेटमा म्याथ्युस सुन्हा र ७७ मिनेटमा डेड्रिक बोयाटलले गरेसँगै खेलमा हर्थले सहज जित निकाल्यो।

हर्थ बर्लिनले जित निकालेसँगै अंकतालिकामा दशौं स्थानमा उक्लिएको छ। २७ खेलमा ९ जित, ७ बराबरी र ११ पराजय भोगेको हर्थको ३४ अंक छ। त्यस्तै युनियन बर्लिन ३० अंकसहित १२ औं स्थानमा छ।

कोरोना महामारीका बीच रोकिएको बुन्डेसलिग अघिल्लो हप्ताबाट कडा नियमहरुका बीच बन्द रंगशालामा सुरु गरिएको थियो। कोरोनाका कारण रोकिएर पुनस् सुचारु हुने बुन्डेसलिगा पहिलो युरोपियन शीर्ष लिग हो।