स्वास्थ्य

हर्ड इम्युनिटी उपयुक्त मोडेल हो कि हैन ? – डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

डा. रवीन्द्र पाण्डे/यदि अधिकांश जनसंख्या कुनै संक्रमणबाट इम्युन (रोगसंग लड्ने एन्टिबोडी बिकास) भयो भने बाँकी जनसंख्याले त्यो रोगसँग लड्ने जुन क्षमता प्राप्त गर्छन्, त्यसलाई हर्ड इम्युनिटी भनिन्छ । उदाहरणको लागि यदि कुनै ठाउँमा ७० प्रतिशत जनसंख्यालाई कोरोना संक्रमण भयो भने बाँकी ३० प्रतिशत जनसंख्याले स्वतः कोरोना संक्रमणको इम्युन प्राप्त गर्छन् अर्थात् १४ जना संक्रमित भए भने ५ जनालाई स्वतस् संक्रमणबिरुद्ध लड्ने क्षमता विकास हुन्छ भन्ने अबधारणा नै हर्ड इम्युनिटी हो ।

लकडाउन नगर्ने, स्कुल र कलेज र कार्यालय र कलकारखाना सबै खोल्ने अर्थात कोरोना संक्रमणलाई वास्ता नगर्ने, समाजमा मजाले कोरोना संक्रमण फैलिन दिने, बालबालिका, युवा तथा बयस्क उमेरका सबै आफ्नो काममा जाने अनि घरमा जेष्ठ नागरिक तथा दीर्घबिरामीलाई आइसोलेसनमा राख्ने… यसो गरेपछि जोखिम समुहमा कोरोना संक्रमण सर्दछ । यसरी कोरोना संक्रमण ब्यापक भएपछि जेष्ठ नागरिक तथा जोखिम बर्ग स्वतः इम्युन हुन्छन् भन्ने अबधारणा अहिले धेरै ठाउँमा घनिभूत भएको छ ।

हर्ड इम्युनिटी २ किसिमबाट प्राप्त हुन्छ ।
१, संक्रमण ब्यापक फैलिएर ।
२, अधिकांश जनसंख्याले खोप लगाएर ।

खोप बिकास हुनुभन्दा पहिले रोगबाट बच्ने उपाय हर्ड इम्युनिटी नै थियो ।

हाम्रो समाजमा ब्यापक फैलिएका कुष्ठरोग, दादुरा, पोलियो, बिफर आदि त्यो समयमा संक्रमण फैलिएर तथा हाल खोपको कारण इम्युन भएका छन् । हर्ड इम्युनिटी खास गरेर जनावरमा रोग फैलिने, रोगले मर्ने, हर्ड इम्युनिटी गेन गरेका बाँच्ने कन्सेप्टबाट लिइएको हो ।

– सामान्य रुघाखोकी अर्थात फ्लुको भ्याक्सिनले १ बर्षमात्र काम गर्छ । तसर्थ कोरोना संक्रमणको हर्ड इम्युनिटी १ – २ बर्ष रहने कतिपय भाइरोलोजिस्टको मत छ भने कतिपयले लामो समयका लागि इम्युनिटी हुने अनुमान गरेका छन् ।

– नराम्रो अवस्थालाई बिचार गर्दा यदि हामीले लकडाउन खोल्यौं, सामाजिक दुरी कायम गरेनौं, कोरोना संक्रमणलाई बेवास्ता गर्यौं भने लाखौं व्यक्ति संक्रमित हुने, अस्पतालको क्षमताले नधान्ने तथा हजारौंको मृत्यु हुनसक्छ ।

-यदि हामीले सामाजिक दुरी र रोकथामका उपाय अबलम्बन गर्यौं, आबश्यकता अनुसार लकडाउन गर्यौं तथा आवतजावतलाई नियन्त्रण गरेर १ बर्ष कोरोना संक्रमणबाट बच्न सक्यौं भने त्यो बेलासम्म खोप तथा औषधिको पत्ता लाग्नेछ । यसरी हामीले न्यून मानबिय क्षतिमा कोरोना संक्रमणलाई पराजित गर्न सक्नेछौं ।
-सामान्य रोग जस्तै चिकन पक्स, भाइरल फ्लु आदिमा हर्ड इम्युनिटीको यात्रा ठिक भएपनि कोरोना संक्रमणमा घातक हुनसक्छ । सामान्य रुघाखोकीभन्दा कोरोना संक्रमण धेरै गुणा घातक भएको र यसले दीर्घबिरामी तथा जेष्ठ नागरिकलाई घातक हुनसक्छ ।

– विश्व स्वास्थ्य संगठनका कार्यकारी निर्देशक डा. माइक राइनका अनुसार मान्छे हर्ड अर्थात जनाबर हैनन् । तसर्थ संक्रमण फैलाएर इम्युन हुनको लागि हामीले ठूलो क्षति बेहोर्नुपर्ने हुन्छ ।

– सुरुमा बेलायतले लकडाउन नगरेर हर्ड इम्युनिटीको बाटोमा जान खोजेको हो । तर अमेरिकामा मृतकको संख्या बढिरहेको कारण बेलायत सामाजिक दुरी लगायतको बाटोमा फर्किएको अनुमान गर्न सकिन्छ ।

– स्वीडेनका अधिकारीले भनेका थिए – लकडाउनले कोरोना संक्रमणलाई हराउन सकिदैन । केवल संक्रमण र मृत्युलाई केहि समय धकेल्ने मात्र हो । केहि समय धकेल्दैमा कोरोना भाइरस हराउंदैन । डा. जेसेकमा अनुसार जुनको अन्त्यसम्म स्विडेनको स्टकहोमका ४० – ६० ५ नागरिक कोरोना संक्रमणबाट इम्युन हुनेछन् । स्विडेनले आफ्नो अर्थतन्त्र बचाउनको लागि यो कदम चालेको तर यसले धेरै नागरिकको मृत्यु भएको भनेर आलोचना गरिएको छ । यद्यपी स्वीडेनले ५० जनाभन्दा बढीको जमघट, रंगशाला, नाइट क्लब, जिम आदिलाई बन्द गरेको छ ।

डा. जेसेकको धारणाको प्रतिबाद गर्दै जोन हप्किन विश्वबिद्यालयले भनेको छ – ‘यो खतरनाक र गलत धारणा हो । यो अवधारणा यस्तो ठाउँमा उपयुक्त हुन्छ, जहाँ अचानक संक्रमण फैलियो र त्यो रोगसँग लड्नको लागि कुनै पूर्वाधार छैनन् ।

नर्डिक देशहरुको बर्तमान तथ्यांक हेर्दा सामाजिक दुरी, संक्रमित ठाउँमा लकडाउन तथा रोकथामका उपाय अपनाउने देशहरुको तथ्यांक यस्तो छ –
१. नर्बे – संक्रमित . ८३०९, मृतक . २३५
२. फिनल्याण्ड – संक्रमित . ६४९३, मृतक . ३०६
३. डेनमार्क – संक्रमित . १११८२, मृतक . ५६४
४. आइसल्याण्ड – संक्रमित . १८०३, मृतक . १०

हर्ड इम्युनिटीको बाटोमा हिड्न अग्रसर भएको स्वीडेनमा संक्रमितको संख्या ३२,१७२ र मृतकको संख्या ३,८७१ रहेको छ । यो अन्य नर्डिक मुलुकको भन्दा उच्च छ ।

स्वीडेनजस्तो बिकसित, उच्च कोटीको सामाजिक सुरक्षा भएको, आर्थिक रुपमा सम्पन्न तथा स्वास्थ्य सुबिधा र चेतना उच्च भएको देशमा संक्रमण यसरी बढेको छ भने अन्य गरिब मुलुकले यो बाटो अपनाउंदा संक्रमण तथा मृत्युदर धेरै उच्च हुन्छ । अहिले विश्वभर अधिकांश उद्योगपतिहरुले आफ्नो टाट पल्टेको ब्यबसाय उकास्नको लागि हर्ड इम्युनिटीको वकालत गर्ने गरेको आरोप लागेको छ । त्यस्तै दैनिक काम गरेर परिवार पाल्ने न्यून आय भएका नागरिकहरु ज्यान बचाउनको लागि लकडाउन हटाउनुपर्ने भन्दै आएका छन् ।

निम्न आय भएका जनतालाई राहत दिने, रोजगारीका अवसर खोज्ने एबम कृषि तथा अन्य उत्पादनमुलक क्षेत्रमा राज्यले प्राथमिकता दिनुपर्छ । हटस्पोट शिल गर्ने, अवस्था अनुसार लकडाउन गर्ने, सामाजिक दुरी तथा सुरक्षाका उपाय अपनाएर कोरोना संक्रमणलाई जति सक्यो पर धकेल्नु नै नागरिक बचाउने सर्बोत्तम उपाय हो ।