कृषि

तनहुँ र भानु नगरपालिकाको सहयोगमा ६०० कृषकलाई धानको बीउ

९ जेठ, दमौली । तनहुँको भानु नगरपालिका–९ पुर्कोटस्थित जैविक विविधता संरक्षण समितिले कृषकलाई धानको बीउ वितरण गरेको छ । कृषि ज्ञान केन्द्र तनहुँ र भानु नगरपालिकाको सहयोगमा समितिले भानु नगरपालिकाका विभिन्न वडाका ६०० कृषकलाई धानको बीउ वितरण गरेको हो ।

कृषि ज्ञान केन्द्र तनहुँको पकेट कार्यक्रमअन्तर्गत ५० प्रतिशत र भानु नगरपालिकाको कृषि शाखाको ४० प्रतिशत अनुदानमा कृषकलाई धानको बीउ वितरण गरिएको समितिका अध्यक्ष विकलराज अधिकारीले जानकारी दिए । भानु नगरपालिका ७, ८, ९, १०, १२ र १३ का कृषकलाई उन्नत जातको सावित्री, मकवानपुर, राम, लोकतन्त्र धान वितरण गरिएको छ । सबै कृषकलाई गरेर १४ टन धानको बीउ वितरण गरिएको समितिले जनाएको छ । बन्दाबन्दीका कारण शहर बजारसम्म पुगेर धानको बीउ खरिद गर्न समस्यामा परेका कृषक गाउँमै धानको बीउ अनुदानमा पाएपछि खुशी भएका छन् ।

बन्दाबन्दीबाट प्रभावित तनहुँ जिल्लाका कृषकलाई स्थानीय तहले पनि विभिन्न बालीका बीउ उपलब्ध गराउने भएको छ । बन्दाबन्दीका कारण सबै क्षेत्र प्रभावित भइरहेकाले सहजरुपमा बीउ नपाउने होकि भन्ने चिन्तामा रहेका कृषकलाई स्थानीय तहले विभिन्न प्रजातिका बीउ उपलब्ध गराउन लागेको हो ।

तनहुँको आँबुखैरेनी गाउँपालिकाले कृषकलाई बीउ उपलब्ध गराउनका लागि तयारी शुरु गरिसकेको प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मीले जानकारी दिए । गाउँपालिकाको आर्थिक वर्ष २०७६÷७७ को स्वीकृत कार्यक्रमबमोजिम कृषकलाई उन्नत धान तथा तरकारीको बीउ वितरण गर्न लागिएको उनले जानकारी दिए ।

“बन्दाबन्दीका कारण कृषक आफैँले खरिद गर्न चाहे पनि सहजरुपमा खरिद गर्न सक्ने अवस्था छैन”, उनले भने, “गाउँपालिका आफैँले खरिद गरेर कृषकलाई बीउ उपलब्ध गराउनेछ ।” गाउँपालिकाले धानको सावित्री, रामधान, गोलभेँडा, काँक्रो, रामतोरिया, सिमी, बोडी, खुर्सानीलगायत बीउ उपलब्ध गराउनेछ ।

गाउँपालिकाले बीउ आवश्यक पर्ने कृषक र समूहलाई निवेदन दिन आह्वान गरेको छ । कृषक वा कृषक समूहको निवेदन, नागरिकता, दुई रोपनी जग्गा भएको प्रमाण पेश गरेपछि कृषकलाई बीउ उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ ।

शुक्लागण्डकी नगरपालिकाले पनि कृषकलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउ वितरण गर्न लागेको छ । प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले कृषकको मागबमोजिम सावित्री, रामधान वा मकवानपुर जातका धानका बीउ उपलब्ध गराउन लागिएको बताए ।

बन्दीपुर गाउँपालिकाले भने कृषकलाई कृषि सामग्री वितरण गर्ने भएको छ । व्यावसायिकरुपमा कृषि पेशा अपनाउँदै आएका कृषकलाई कृषि औजार वितरण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । उनका अनुसार कृषकलाई मिनी टेलर, कुटानी, पिसानी, पानी तान्ने मोटर, ठेलागाडा ६० प्रतिशत अनुदानमा प्रदान गरिनेछ । कृषकलाई कृषि पेशाप्रति आकर्षित गर्न कृषि सामग्री वितरणको नीति लिइएको थापाले बताए ।

देवघाट गाउँपालिकाले फलफूलको बिरुवा ५० प्रतिशत अनुदानमा कृषकलाई वितरणको तयारी गरेको छ । प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीका अनुसार लिची, आँप, केरा, कागती, रुखकटहर, भुइँकटहर, जुनार, अलैँची, सुन्तला, किबी, जुनारलगायतका बीउ अनुदानमा वितरण गरिनेछ ।

जिल्लामा सबै स्थानीय तहले आवश्यक पर्ने उन्नत तथा स्थानीय जातका बीउ खरिद गरिसकेको हुँदा बन्दाबन्दीले कुनै असर नगर्ने कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । जिल्लाको ७१ हजार ९२८ हेक्टर क्षेत्रफल खेतीयोग्य छ । जिल्लाका कृषकले मुख्यरुपमा धान, मकै, कोदो, जौ, आलु, सुन्तलालगायत खेती गर्दै आएका छन् ।

सूर्य नेपालद्वारा रु दश लाख सहयोग

तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेरामा रहेको बहुर्राष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालिले शुक्लागण्डकी नगरपालिकालाई आज रु १० लाख सहयोग गरेको छ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि नगरपालिकाले खडा गरेको कोरोना सङ्क्रमण, रोकथाम तथा उपचार कोषका लागि सूर्य नेपालले रु १० लाख सहयोग गरेको हो ।

उक्त रकमबराबरको चेक प्रालिका तर्फबाट कारखाना प्रबन्धक बाबुराम कार्कीले नगरप्रमुख किसान गुरुङलाई हस्तान्तरण गरे । कम्पनीको सामाजिक उत्तरदायित्व बहनअन्तर्गत महामारीका रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि उक्त रकम सहयोग गरिएको कार्कीले बताए । नगरप्रमुख गुरुङले नगरपालिकाभित्र स्थापना भएको देशकै ठूलो उद्योगमध्येको सूर्य नेपालले कोरोना भाइरस नियन्त्रण गर्ने नगरपालिकाको अभियानमा सहयोग गरेकामा धन्यवाद ज्ञापन गरे।

नगरपालिकाले खडा गरेको कोरोना कोषमा विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले सहयोग गर्दै आइरहेका छन् । नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमालका अनुसार उक्त कोषमा हालसम्म करिब रु १६ लाख जम्मा भएको छ । उक्त कोषमा नगरपालिकाको तर्फबाट रु ६० लाख विनियोजन गरिएको छ ।

काठमाडौँको कान्तिपथमा प्रधानकार्यालय रहेको सूर्य नेपालले विसं २०४३ देखि सिमरामा चुरोट उत्पादन गर्दै आएको छ । तराईमा असुरक्षा महसुस गर्दै कम्पनीले विगत ६ वर्ष अगाडि शुक्लागण्डकी नगरपालिकामा उद्योग स्थापना गरेको थियो । १४५ रोपनी क्षेत्रफलमा फैलिएको तनहुँ प्लान्टबाट वार्षिक ६ अर्ब खिल्ली चुरोट उत्पादन गर्ने लक्ष्य लिइएको छ । सूर्य नेपालमा भारतीय कम्पनी आइटिसीको ५९ प्रतिशत लगानी छ । प्रभाकरशमशेर राणाको सूर्य इन्टरप्राइजेजसँगै अन्य १० वटा समूहको ३९ प्रतिशत हिस्सा छ भने दुई प्रतिशत ब्रिटिस–अमेरिकन टोबाकोको शेयर छ । कम्पनीले सूर्य, शिखर, बिजुलीलगायत चुरोट उत्पादन गर्छ ।