साहित्य

पसिनाको जुलुस

                               -असीम सागर                                                -कविता

धनमाया
स्कुस बेच्छिन्
ईमान बेच्दिनन्
साग बेच्छिन्
स्वाभिमान बेच्दिनन्
आइसक्रिम बेच्छिन्
हिमाल बेच्दिनन्
देशको मानचित्र बेच्छिन्
देश बेच्दिनन्
मैले तिनै धनमायाबाट सिकेको हुँ
देशलाई माया गर्न

जसरी
घामले जोगाएर राख्छ आफूभित्र न्यानो
फूलले बचाएर राख्छ आफूभित्र सुवास
त्यसरी नै
जोगाएकी छिन् उनले स्वाभिमान
बचाएकी छिन् उनले देश

जसरी
घोटिदा—घोटिदा शालिग्राम बन्छ पत्थर
हिँडिदा—हिँडिदा बनिन्छ बाटो
त्यसरी नै बनेकी हुन् उनि धनमाया

उनि कति कोमल छिन्
फूललाई दाँज्नू
उनि कति कठोर छिन्
पत्थरलाई छाम्नू
र सम्झनु
निस्किएन भने पसिनाको जुलुस
धनमायाको निधारबाट
देशमा खडेरी पर्छ
तुफान आउँछ
सोही तुफानले जम्मै सिमाना भत्काएर
देशभरि भोक थुपार्छ

तब भोको पेटले झण्डा समातेर
लर्बरिएको खुट्टाले
कसको आँगन टेकेर भन्नुहुन्छ
यो देश मेरो हो ?

आफै तर्सने आफ्नै सिकुटे अनुहारले
ओझेल परेको घामको तस्विर नियाल्दै
आफ्नै पाखापखेराको धुलौटे माटोमा
धनमाया पसिनाले देश लेख्छिन्
ढाकरमा देश बोक्छिन्
त्यसैले
उनि हिँडेको उनको पैतालाको डोब पनि
हेर्नुस् त—
ठ्याक्कै देशजस्तो छ !