पत्रपत्रिका

लकडान कै बेला भारतबाट ५ हजार भित्रिएः गरिएन कोरोना परिक्षण

९ जेठ काठमाडौं । लकडाउनकै समयमा भारतबाट फर्कने नेपालीको सीमानाका भिड लागेको छ । झन्डै दुई महिनादेखि दुई देशबीचको नाका सिल भए पनि नेपाल फर्कने र भारत फर्कने सीमानाकामा जम्मा भएका छन् । भारतका विभिन्न सहरबाट सीमानाकामा आएकामध्ये बुधबार नेपालगन्ज नाकाबाट तीन हजार बढी र भारतको गौरीफन्टा नाकाबाट कैलालीमा दुई हजार बढी भित्रिएका छन् । स्वास्थ्य जाँचविनै उनीहरूलाई प्रवेश गराउँदा कोरोना संक्रमणको जोखिम बढेको छ ।

नेपाल–भारत नाका सिल गरे पनि नेपालगन्ज नाकाबाट एकै दिन झन्डै तीन हजार नेपाली प्रवेश गरेका छन् । लकडाउन र सीमानाका सिल भएकै अवस्थामा भारतका विभिन्न ठाउँबाट आएका नेपालीलाई जिल्ला प्रशासन, बाँकेको अनुमतिमा नेपाल प्रवेश गराइएको हो । नेपालगन्ज नाकाबाट बिहीबार राति दुई हजार नौ सय १३ जना भित्रिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।

सीमा सिल र लकडाउनबीच एक हप्ताअघि नेपालगन्ज नाकाबाट सात सय ६६ जना नेपाली भित्रिएका थिए । नेपाली भित्र्याउने र भारतीयलाई आफ्नो देश पठाउने काम सँगसँगै भइरहेको उनले बताए । उपाध्यायका अनुसार बिहीबार राति तीन हजार एक सय ५८ जना भारतीय स्वदेश फर्किएका छन् ।

यस्तै भारतबाट फर्केकाको स्वास्थ्य जाँचका लागि आरडिटी किट र जनशक्तिको अभाव देखिएको छ । स्वास्थ्य जाँचका लागि पर्याप्त कर्मचारी खटाइएको छैन । दुईजना स्वास्थ्यकर्मी र दुईजना स्वयंसेवक मात्र परिचालन गरिएका थिए । आरडिटी किट अभावले बुधबार फर्किएकाको स्वास्थ्य जाँच गरिएन  । कैलालीमा करिब ६ सय किट मौज्दात रहेको मन्त्रालयका कोरोना फोकल पर्सन नरेन्द्रसिंह कार्कीले बताए ।

भारतबाट फर्कनेलाई ३० वटा बसमा राखेर बिहीबार बेलुकी विभिन्न जिल्लामा पठाइएको जिल्ला प्रशासनले जनाएको छ । केही बस प्रदेश सरकार र केही स्थानीय तहले पठाएका हुन् । कैलाली र कञ्चनपुरका स्थानीय तहले ट्रिपर र ट्र्याक्टरमा लगेर क्वारेन्टाइनमा राखेका छन् ।

बुधबार फर्केकाहरूले विद्यालय प्रांगणमै रात बिताएका थिए । सामाजिक दूरीसमेत कायम गरिएको छैन । भारतको राजस्थानबाट फर्किएका अछामको ढकारीका टंक शाहीले तीन–चार दिनदेखि राम्ररी खान नपाएको बताए । गाउँपालिकासम्म लगेर आफूहरूलाई क्वारेन्टाइनमा राखिनुपर्ने उनले माग गरे । यसअघि २ र ३ जेठमा गौरीफन्टा नाका भएर सात सय ५८ जना स्वदेश फर्किएका थिए ।

                                                                                                                                  नयाँ पत्रिकामा छ