खेलकुद

आज भलिबल दिवसः लकडाउनकाबीच भएन कुनै कार्यक्रम

८ जेठ काठमाडौं । आज जेठ ८ गते, भलिबल दिवस । नेपाल भलिबल संघले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको दिनको सम्झनामा दिवस मनाउन सुरु गरेको हो । तत्कालिन पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०७४ साल जेठ ८ गते भलिबललाई राष्ट्रिय खेलको मान्यता दिएको थियो । युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाईलीको पहलमा मन्त्रीपरिषद्बाट भलिबललाई राष्ट्रिय खेलको रुपमा घोषणा गरिएको थियो ।

सोही दिनको सम्झनामा भलिबल संघले जेठ ८ गतेलाई भलिबल दिवसमा अवसरमा मनाउन सुरु गरेको हो । यस बर्ष भलिबल दिवसका अवसरमा कुनै औपचारिक कार्यक्रम नहुने भएको छ । महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण फैलन नदिन सरकारले लकडाउन घोषणा गरेकाले भलिबल संघले कुनै औपचारिक कार्यक्रमको आयोजना नगरिने बताएको हो ।

भलिबललाई राष्ट्रिय खेलको रुपमा घोषणा गरेको सरकारले राष्ट्रिय खेलकुद विधेयकमै यसलाई समावेश गरेको छ । नेपालको राष्ट्रिय खेलको रुपमा भलिबल हुने व्यवस्था विधेयकमा उल्लेख गरिएका छ । सो विधेयक संघीय संसदका दुवै सदनबाट पारित भएर राष्ट्रपतिसंग प्रमाणिकरणका लागि पुग्ने प्रक्रियामा छ ।

प्रस्तावित विधेयक राष्ट्रिय खेलको बिषयमा मौन बनेपनि युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले भलिबललाई राष्ट्रिय खेलको रुपमा विधेयकमा समावेश गर्न जोड गरेका थिए । सोही अनुसार संसदीय समितिले संशोधनको क्रममा भलिबललाई राष्ट्रिय खेलको रुपमा विधेयकमा समावेश गरेको थियो । भौगोलिक हिसाबले देशको सबै भागमा खेल्न सकिने र लोकप्रिय खेलको रुपमा रहेको भलिबललाई राष्ट्रिय खेल बनाउन भलिबल संघले समेत तिव्र लबिङ गरेको थियो ।

घरेलु खेलकुदमा पछिल्लो समय भलिबल लोकप्रिय खेलको रुपमा अगाडी आएको छ । प्रतियोगिताको संख्यात्मक वृद्धिले समेत भलिबलको लोकप्रियता र सम्भावना घरेलु खेलकुदमा उजागर गरेको छ ।