-डा कर्णाखर खतिवडा – कविता
भोलिको दिन यो सारा विश्व सन्त्रास मुक्त होस्!
कोरोना नामको व्याधि यौटा दुःस्वप्न मात्र होस्!!
सूर्योदयसँगै सारा भेटियून् बन्धुबान्धव!
अङ्कमाल गरी स्नेह व्यक्त गर्न नहोस् भय!!
गुडून् गाडी उडून् यान फर्कियोस् पूर्व जीवन!
भिडभाड भई ज्यादा गाडीमा चढ्न मुस्किल!!
बरु ट्र्याक्टरको नाद गुन्जियोस् कानमा अब!
बढोस् ट्रिपरको त्राश मुर्दा शान्ति नहोस् तर!!
घर आँगन उद्यान धुलाले सब ढाकियोस्!
धुवाँको गन्ध होस् किन्तु आच्छाद नाकमा नहोस्!!
चलून् सारा इँटा भट्टा निकालून् पुतपुते धुवाँ!
उद्योग कारखानाले प्रदूषण गरून् यहाँ!!
बाटो होस् जाम गाडीले बसून् व्यापारी पेटिमा!
पुगून् मन्दिरमा भक्त पुजारी मख्ख भेटिमा!!
हिँड्ने ठाउँ नपाएर परोस् पर्खिन व्यर्थमा!
मुर्दा एक्लो नहोस् फेरि कहिल्यै आर्यघाटमा!!
विवाहोत्सव हुन् भव्य छाओस् रौनक भोजमा!
मदोन्मत भई फेरि झुमून् मानिस मोजमा!!
सिनेमा घरमा खाली ठाउँ कैल्यै कतै नहोस्!
नाट्यशाला भरीएर हाँसो सर्वत्र गुन्जियोस्!!
कविता लेखिऊन् ज्यादा आशावादी विचारका!
गीतले गुन्जियोस् धर्ती चलून् काव्य मुसायरा!!
झुमून् उद्यानमा जोडी बाँधियून् प्रेमपाशमा!
गाँजामा मस्त हुन् साधु स्वाद होस् गाँसगाँसमा!!
माया साट्न कसैलाई नहोस् त्राश नहोस् छल!
डेटिङ बेटिङ मिलोस् सेटिङ नछुटोस् खुसिको पल!!
लोकसङ्गीतले फेरि गुन्जियोस् वन जङ्गल!
मुर्चुङ्गा सनही झ्याली बजून् सारङ्गि मादल!!
हुनेले साथमा पैसा खर्चियून् लाखलाखमा!
नहुनेहरूले भोकै नपरोस् बस्नु देशमा !!
विद्यार्थीहरूको भीड शिक्षालयहरूभरि!
काम गर्नेहरूलाई नहोस् बाधा घरीघरी !!
परनिर्भरता त्यागी बनौँ है आत्मनिर्भर !
व्याधि दुस्स्वप्न होस् लागोस् यो सधैँ सत्य झैँ तर !!