कर्णाली प्रदेश

चोरी निकासी रोक्ने वन र निकुञ्जमा सुरक्षाकर्मीको गस्ती

जाजरकोट, ७ जेठ । कोरोना भाइरसको जोखिमबाट जोगिन र जोगाउन यार्सागुम्बा सङ्कलनमा रोक लगाएपछि डोल्पाका पाटनमा सुरक्षाकर्मीले गस्ती शुरु गरेका छन् । सामुदायिक वन समूहमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गस्ती गरिररहेका छन् ।

यार्सागुम्बालगायतका अन्य बहुमूल्य जडिबुटीको चोरी निकासी रोक्नका लागि युद्धस्तरमा गएर गस्ती शुरु गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिएका छन् । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको सुरक्षा नेपाली सेनाले गर्दै आएको छ । हप्ता दिनअघि यार्सागुम्बा चोरीका लागि उपल्लो डोल्पामा केही व्यक्ति फेला परेपछि गस्ती कार्यलाई थप कडाइ गरिएको छ ।

जाजरकोट, डोल्पा, रुकुमपश्चिम र जुम्लालगायतका जिल्लाका स्थानीयवासी डोल्पामा यार्सागुम्बा सङ्कलनका लागि डोल्पा जाने गरेका थिए । यार्सागुम्बा रोक लगाएसँगै यहाँका सबै स्थानीयवासी रोकिएका छन् । कोरोना भाइरसका कारण पहिलोपटक बन्द गरिएका डोल्पाका यार्सा पाटनमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरी सबै नाकासमेत बन्द गरिएको छ ।

बाहिर जिल्लाबाट र जिल्लाभित्रका मानिसले लुकीछिपी चोरी गर्ने भएकाले रोक्नका लागि पाटनमै नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको क्याम्प राखिएको प्रमुख जिल्ला अधिकारी सुनारले जानकारी दिएका छन् । जिल्लामा रहेका डिभिजन वन कार्यालयअन्तर्गतका सामुदायिक वनमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको छ भने शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जअन्तर्गतका मध्यवर्ती क्षेत्रका वनमा नेपाली सेना र निकुञ्जका कर्मचारी परिचालन गरिएको छ ।

सामुदायिक वनमा जगदुल्ला गाउँपालिकामा १०, ठूलीभेरी नगरपालिकाको माझफालमा २०, छार्कामा २० र काइके गाउँपालिकाको ठाँगेमा १० गरी ६० सशस्त्र प्रहरी यार्सा पाटनमा पठाएको सशस्त्र प्रहरी बल ४६ नं गुल्मका प्रमुख प्रहरी नायब उपरीक्षक चेतसिंह थापाले जानकारी दिएका छन् । सामुदायिक वनमा पनि प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिइरहेको समेत उनले जानकारी दिएका छन् ।

“हामीले स्थानीय सरकार र सामुदायिक वनका प्रतिनिधिसँगको सहकार्यमा यार्सा पाटनको सुरक्षा गर्नेछौँ, चोरीका कुनै पनि क्रियाकलाप हुने छैनन्, यसमा सुरक्षाकर्मीलाई स्थानीयवासीले पूर्णरुपमा साथ दिएका छन्”, उनले भने । त्यसैगरी नेपाल प्रहरीले पनि आफ्नो टोली यार्सागुम्बा पाटनमा परिचालन गरिसकेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिएका छन् ।

रञ्जितकारले जिल्लाको माझफालमा १४, जगदुल्लामा ११, ठाँगेमा १०, नावरपानीमा १० र छार्काको तालपाटनमा १० जना गरी ५० प्रहरी सम्बन्धित क्षेत्रमा पुगेर नियमित गस्ती गरिरहेको उनको भनाइ छ । अन्य चौकीमा पनि प्रहरी पुगेकाले यार्सागुम्बा पाटनको सुरक्षामा कुनै कमी नभएको दाबी उनले गरे ।

अघिल्ला वर्षहरुमा जेठको १० गतेपछि जिल्लाका सबै यार्सा पाटन खुला गर्ने गरिएको भए पनि यस वर्ष भने कोरोना भाइरसका कारण जिल्लाका सबै पाटन बन्द गरिएकाले नेपाली सेना, प्रहरी र स्थानीयवासीको पहलमा यार्सा पाटन चोरी गर्नबाट जोगाइरहेको प्रमुख जिल्ला अधिकारी सुनारले जानकारी दिएका छन् ।

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जअन्तर्गतका सबै पाटनमा एक साता पहिलेदेखि नै नेपाली सेनाको टोलीले सुरक्षा दिइरहेको र थप सुरक्षा व्यवस्था बढाइरहेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले जानकारी दिएका छन् ।

डोल्पामा शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जअन्तर्गतका मध्यवर्ती क्षेत्रका वन र डिभिजन वन कार्यालय अन्तर्गतका सामुदायिक वन गरी दुई किसिमका वनमा यार्सागुम्बा पाइने गर्दछ । लकडाउनको मौका छोपी चोरी निकासी गर्ने कार्यसमेत रोकिएको उनको भनाइ छ । भूगोलका हिसाबले डोल्पा ठूलो जिल्ला हो । छिमेकी मुलुक चीनसँग सिमाना जोडिएको डोल्पा जाजरकोट, रुकुम र जुम्लासँग समेत सीमा जोडिएको छ ।