विचार/ब्लग

कोरोना संक्रमणका बेला गर्भवती महिलालाई डा सुबेदीको टिप्स्

डा प्रकृति सुबेदी / गर्भावस्थाको समय निकै सम्बेदनशिल समय हो । त्यसमा पनि अहिले कोभिड – १९ को समयमा के गर्ने के नगर्ने दुबिधा भएको हुनसक्छ । यस्तो समयमा नआत्तिकिन शारीरिक र मानसिक रुपले स्वस्थ हुनुपर्ने हुन्छ । गर्भवती महिलाले नियमित जाँच गर्नुपर्ने हुन्छ ।

तर शरीरमा कुनै किसिमको समस्या छैन भने घरमै बस्नु र भिडभाडमा नजानु राम्रो हुन्छ । समय समयमा साबुन पानीले मिचिमिची (थोरैमा २० सेकेन्ड) हात धुने बानी गर्नुस् । पानीको ब्यबस्था छैन भने स्यानीटाईजर प्रयोग गर्नुस् तर भान्सा कोठामा स्यानीटाईजर प्रयोग नगर्नुस् ।

अस्पतालमा कोभिड – १९ का बिरामीका साथै अन्य बिरामी हुन् सक्ने भएको हुदा सकभर अस्पताल नजानु राम्रो हुन्छ तर डाक्टरले दिएको औषधीहरु आइरन, क्यल्सियम र अन्य औषधी छन भने नियमित सेवन गर्दै घरमै बस्नु राम्रो हुन्छ ।

गर्भावस्थामा कुनै पनि समय आकस्मिक समस्या आउन सक्छ । यदि कुनै पनि समस्या आयो भने तुरन्तै अस्पताल जानुपर्छ । गर्भवती महिलाले गर्भमा रहेको बच्चाको चाल महसुस गरिराखेको हुनुपर्छ । यदी बच्चा चलेको महसुस भएन भने तुरुन्तै अस्पताल जानुपर्ने हुन्छ । अन्य समस्याहरु जस्तो धेरै नै पेट ढुखेमा, पिसाब जस्तो पानी बगेमा तुरुन्तै अस्पताल जानुपर्छ । 

गर्भको पहिलो ३ महिना–
कतिपय महिलाहरुलाई शुरुको अवस्थामा खाना खान मन पर्दैन, वाकवाक लाग्ने, दिसा कडा हुने, कतिपय खानेकुराको नमिठो गन्ध आउने जस्ता समस्याहरु हुन्छन् । गर्भावस्थामा बिटा एचसिजी हर्मोनको मात्रा बढेको हुन्छ । त्यसैले खाना खान मन लाग्दैन ।

गर्भमा धेरै पानी हुदा, दुई वा दुई भन्दा बढी बच्चा वा मोलार प्रेग्नेन्सी भएमा हर्मोन बढेको हुन्छ । हर्मोन सामान्य भन्दा बढी भएमा धेरै वान्ता हुन सक्छ । यस बाहेक भिटामिन वा प्रोटिनको कमी भएमा र मानसिक समस्या भएमा पनि वान्ता हुन सक्छ । साथै पिशाबको संक्रमण, कलेजोको संक्रमण जस्ता स्वस्थ्य समस्या भएमा पनि वान्ता हुन सक्छ ।

गर्भावस्थामा वाकवाक लाग्दैमा, एकदुई पटक वान्ता हुदैमा डराउनु पर्दैन । यस्तो बेलामा आफुलाई मन पर्ने खानेकुरा पटक पटक खाने गर्नु पर्छ । तर वान्ता बढी नै हुन थाल्यो भने र शरीर कमजोर जस्तो अनुभब हुन थाल्यो भने गर्भवती महिला र बच्चालाई असर पर्ने हुन्छ त्यसैले तुरुन्तै अस्पताल गएर डाक्टरको सल्लाह लिनुपर्ने हुन्छ । अहिलेको समयमा अस्पताल जादा मास्क लगाएर जानु पर्छ । भिडभाडमा नजाने, नबस्ने, उभिदा पनि सामाजिक दुरी कायम राखेर उभिने गर्नुपर्छ । तुरुन्तै चेकजाच गरेर घर फर्किहाल्नुपर्छ । अस्पतालमा धेरै किसिमका बिरामीहरु हुने हुनाले समयमा आफ्नो काम सकेर फर्कनु पर्छ । यदि डाक्टरले औषधी दिनुभएको छ भने राम्रो संग फार्मेसीमा बुझेर आउने र नियमित खाने गर्नु पर्छ ।

यसरी सुरुको अवस्थामा सानोसानो समस्याले पनि गर्भमा रहेको बच्चा खेर जान सक्ने हुनाले नियमित रुपमा स्वस्थ्य परिक्षणको ठुलो महत्व हुन्छ । घरमा नियमित रुपमा प्रशस्त झोल पदार्थहरु पिउने, पोषिलो खानेकुराहरु खाने, चिकित्सकसँग फोन वा नेटबाट सम्पर्क गरी राख्नुपर्छ । फोलिक एसिड डाक्टरले दिएको हुन्छ । नियमित प्रयोग गर्ने गर्नु पर्छ । यस अवस्थामा मानसिक तनाब लिनु हुदैना, धुम्रपान तथा मद्पानसेवन गर्नु हुदैन । यदि कुनै औषधी प्रयोग गर्नु परेमा गर्भमा भएको बच्चालाई र आमालाई कुनै असर नपर्ने औषधी प्रयोग गर्नुपर्ने हुन्छ । त्यसैले डाक्टरको सल्लाह बिना कुनै औषधी प्रयोग गर्नु हुदैन ।
यस्तो बेलामा पिशाबमा संक्ररमण हुने सम्भावना भएकोले प्रशस्त पानी तथा झोलहरु पिउने र व्यक्तिगत सरसफाईमा ध्यान दिने गरेमा यस्तो समस्याबाट बच्न सकिन्छ । दोस्रो ३ महिना – यसबेला खासै समस्या त्यति देखिदैन ।  यो समयमा खाना रुची हुने, तौल बढने र पेट पनि देखिन थाल्ने हुन्छ । यस अवस्थामा डाक्टरले रगत बढाउन आइरन र क्यल्सियम चक्की दिने गर्नुहुन्छ । जुन नियमित खानु पर्छ ।

यो समयमा टि टि सुई लगाउनु पर्ने हुन्छ तर लकडाउन खुलेपछि लगाउदा नी हुन्छ यसको लागि डाक्टर सँग सल्लाह लिनु पर्छ । गर्भ रहेको ४ देखी ५ महिना पछि ढाड वा कम्मर दुख्ने समस्या आउछ । धेरै जसोलाई ४ महिना देखि नै ढाड दुख्न सुरु हुने कुरा अध्ययनले देखाएको छ । यो समयमा तौल बढ्ने र पाठेघर तन्किएर ठुलो हुने गर्छ र तलको नशालाई दबाब दिने भएकोले कम्मर दुख्ने गर्छ । यस्तो हुदा आत्तिनु पर्दैन आिराम गर्ने, हल्का ब्ययम गर्ने दुखाई कम गर्ने जेल लगाउने तर औषधि भने नखानु नै राम्रो हुन्छ ।

समय समयमा मुखमा अमिलो पानी आउने, पेट पोल्ने, वान्ता आउला जस्तो हुने गर्छ । यो समयमा पिरो, अमिलो, चिल्लो, कम खाने, सन्तुलित खाना खाने, थोरै थोरै छिटोछिटो खाना खाने, पेट खाली नराख्ने र मनतातो पानी सेवन गर्ने गर्नु राम्रो हुन्छ । अप्ठयारो भएमा डाक्टरको सल्लाह लिने गर्नु पर्छ । सल्लाह लिदा चिनेको डाक्टरलाई फोन वा नेटबाट सल्लाह लिन पनि सकिन्छ । यदि अस्पताल गएमा साबधानी साथ जानुपर्छ ।

अन्तिम ३ महिना – गर्भको अन्तिम अवस्थामा विभिन्न समस्याहरु आउन सक्छन् ।  समस्या पेटको बच्चा र आमा दुबैलाई आउन सक्छ । त्यसैले कुनै पनि समस्या आएमा तुरुन्तै चिकित्सकको सल्लाह लिनु पर्छ । आफ्नो कागजपत्रहरु सबै एकै ठाउँमा सजिलै भेटिने ठाउँमा राख्नु पर्छ । ताकी अस्पताल जानु पर्यो भने कागजपत्रहरु लिएर जानु पर्छ । गर्भवती महिलाले पेटमा बच्चा चलेको महशुस गरिराख्नु पर्छ । यदि नभएमा तुरुन्तै आफ्नो कागजपत्रहरु लिएर अस्पताल जानुपर्छ । यस्तो बेला गर्भवती महिलाले तनाब लिन हुदैन ।  चिकित्सकको सल्लाह अनुसार जे भन्छन त्यही गर्नु पर्छ ।

बच्चा वा भूर्ण लाई एउटा पातलो झिल्लिले ढाकेको हुन्छ । यस झिल्ली भित्र भूर्ण संगै एक किसिमको पानी हुन्छ जसलाई एम्नोटिक फ्लुड भनिन्छ । गर्भ २८ हप्ता पुगेपछि कुनै पनि बेला यो झिल्ली च्यातिन सक्छ र पानी बग्न सक्छ । यो समस्या भूर्ण ३७ हप्ता अगाडी नै आएमा गम्बिर अवस्था मानिन्छ । यस्तो अवस्था आएमा तुरुन्तै अस्पताल जानु पर्छ । अस्पताल नगएमा आमा र बच्चा दुबैलाई खतरा हुन्छ । यस्तो अवस्थामा कतिपयले नर्मल रुप मै बच्चा जन्माउनु हुन्छ तर कसैलाई भने औषधी तथा औजार प्रयोग गरेर बच्चा जन्माउनु पर्ने हुन्छ ।

तल्लो पेट दुखेर रगत बगेमा तुरुन्तै अस्पताल जना पर्छ । गर्भावस्थामा खुट्टा हल्का सुन्निनु सामान्य हो । जुन आराम गरेपछि आफै कम हुन्छ  तर यदि अत्त्याधिक मात्रामा खुट्टा सुन्नियमाः राति सुतेर बिहान उठ्दा समेत खुट्टा सुन्निराखेमा, टाउको दुख्ने आखा धमिलो देख्ने समस्याहरु आएमा तुरुन्तै अस्पताल जानुपर्छ ।

कतिपयले दिएको डेट भन्दा अगाडी नै जन्माउनु हुन्छ भने कतिपयले ठिक डेटमा जन्माउनु हुन्छ । कसैले डेट भन्दा पछाडी जन्माउछन् । दिएको ठिक डेटमा बच्चा जन्मेन भने तुरुन्तै अस्पतालमा जानु पर्छ । अन्यथा आमा र बच्चा दुबैलाई असर पर्छ । यस्तो समयमा नियमित रुपमा डाक्टरको सल्लाह फोन वा नेटबाट लिईराख्नु पर्छ । किभिड –१९ संक्रमणको जोखिम रहेको समयमा यिनै कुराहरुलाई ध्यानमा राखी गर्भवतीको घरमै हेरचाह गर्नु राम्रो हुन्छ, चिकित्सकको सल्लाह भने लिईरहनु होला ।

(फेदीखोला २ स्याङ्जाकी डा सुबेदी, हाल धनुषा, लालगढ़को लालगढ़ अस्पताल कार्यरत छन् ।)