पु.समाचार

प्रधानमन्त्री संसदमा भन्छन्: चीनको भन्दा भारतको कोरोना खतरा

६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट आएको कोरोना भाईरस कडा भएको बताएका छन् ।

उनले आज नीति तथा कार्यक्रमको छलफलमा संसदमा बोल्दै बुहान, इटली, दुबईभन्दा कडा खाल्को भएको दाबी गरेका छन् ।

रोष्ट्रममा बोल्दा बोल्दै गलेपछि कुर्शी ल्याएर बोल्न बाध्य भएका प्रधानमन्त्री ओलीले कोरोनाका कारण कोही पनि नमरोस भन्ने सरकारको संकल्प भएपनि बिभिन्न कारणले सरकार यस कार्यमा असफल भएको उनको दाबी छ ।

प्रधानमन्त्री ओलीले बुहानको भन्दा भारतको खतरा भनेका छन् । बुहान चीनको एक प्रान्त हो । कोरोना भाईरसको उद्गम स्थान समेत बुहान हो ।

प्रधानमन्त्री  ओलीले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता गर्न नेपाल सफल हुने बताए । नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रतिनिधिसभामा आज जवाफ दिँदै प्रधानमन्त्री ओलीले सरकारले नेपालको नयाँ राजनीतिक नक्सा तयार गरेसँगै यसले नेपालको मानचित्रमा परिवर्तन आएको उल्लेख गरे ।

उनले भने, “हामी सत्य र न्यायको पक्षमा छौँ । हामी भारतसँग कुरा गरेर हाम्रो कूटनीतिक वार्ताका माध्यमबाट भूमि फिर्ता गराउनेछौँ ।”
मन्त्रिपरिषद्को बैठकले पास गरेको नेपालको नयाँ नक्सालाई सरकारी छाप, निशान र पाठ्यक्रम आदिमा परिवर्तन हुने पनि उनले स्पष्ट गरे। प्रधानमन्त्री ओलीसँग सांसदको प्रश्नोत्तरको क्रम जारी छ ।