खेलकुद

ललितपुर जिल्ला संघ अध्यक्ष थापालाई किन गर्यो एन्फाले निलम्बन ? हेर्नुहोस् यस्तो छ कारण !

६ जेठ काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सामाजिक सञ्जालमा पदाधिकारी र फुटबल संघविरुद्ध अपशब्द प्रयोग गर्ने ललितपुर जिल्ला संघका अध्यक्ष पुरुषोत्तम थापालाई कारबाही गरेको छ । स्पष्टिकरण पत्र चित्त बुझ्दो नभएको भन्दै एन्फा सचिवालय बैठकले जिल्ला अध्यक्ष थापालाई आगामी साधारण सभा सम्मका लागि निलम्बन गर्ने निर्णय गरेको छ ।

एन्फाले बार्षिक साधारण सभा चैतमा सञ्चालन गर्ने तय गरेको थियो । तर, कोरोना भाईरसको महामारीको कारणले साधारण सभा अनिश्चित समयका लागि स्थगित गरिएको छ । गत बैशाख २२ गते एन्फा दिवसका अवसरमा वरिष्ठ उपाध्यक्षले दिएका शुभकामना सन्देशको जवाफमा अपशब्द लेखेको भन्दै फुटबल संघले ४८ घण्टाभित्र लिखित जवाफ पेश गर्न भन्दै थापालाई स्पष्टिकरण सोधेको थियो ।

थापाको कार्यले संघ र नेतृत्वको ईज्जतमा धक्का पुुर्याउने, अनास्था फैलाउने, अपमानजनक घृणित कुप्रचार कार्य भएको एन्फाले बताएको थियो । स्पष्टिकरणको जवाफ पेश गर्दै थापाले एन्फा डे मनाउने फुटबल संघको निर्णयमा थप प्रश्नहरु सोधेका थिए । उनले एन्फा डेको मितिलाई साधारण सभाले अनुमोदन नगरेको भन्दै स्पष्टिकरण पत्रमा थप जवाफ दिन नेतृत्वसंग माग गरेका थिए ।

थापाले दिएको जवाफ चित्त बुझ्दो नभएको भन्दै एन्फाले उनलाई आगामी साधारण सभा सम्मका लागि निलम्बन गर्ने निर्णय गरेको एन्फाका एक पदाधिकारीले खेलपाटीलाई बताए । एन्फासंग असन्तुष्ट रहदै आएका थापाले वर्तमान नेतृत्व सहितको कार्यसमितिको सुरुवात देखिनै विरोध गर्दै आएका थिए । विधान अनुसार उनलाई साधारण सभासम्मका लागि निलम्बन गर्ने निर्णय गरेको छ । उहाँको बिषयमा साधारण सभाले थप निर्णय गर्नेछ । एन्फाका एक पदाधिकारीले भने ।