पत्रपत्रिका

नेपालीले गाडेको नेपाली झण्डा १० मिनेट नबित्दै लग्यो एसएसबीले

विराटनगर ५ जेठ । भारतले आफ्नो भनी दाबी गरेको क्षेत्रमा पाँचथर र इलामका विद्यार्थीले गाडेको राष्ट्रिय झन्डा भारतीय सुरक्षाकर्मीले हटाएका छन् । नेविसंघका जिल्लास्तरका नेताले भारतीय अतिक्रमणको विरोध गर्दै सन्दकपुर–आहाल क्षेत्रमा राष्ट्रिय झन्डा फहराएका थिए ।

१० मिनेट नबित्दै आएका भारतीय सीमा सुरक्षाबल (एसएसबी) का जवानहरूले झन्डा उठाएर लगेको विद्यार्थी नेताहरूले बताएका छन् । सन्दकपुर–आहाल क्षेत्रसँगै देशभरका विभिन्न स्थानमा नेपाली भूमि अतिक्रमण भएको विरोधमा विद्यार्थीले चरणबद्ध आन्दोलन गर्दै आएका छन् । शनिबार साँझ त्यस क्षेत्रमा पुगेका विद्यार्थीहरूले सीमा अतिक्रमणविरुद्ध प्रदर्शन गरेका थिए । विद्यार्थीले प्रदर्शन गरिरहेका बेला एसएसबीले करिब सय मिटर पर बसेर हेरेको पाँचथरको फालेलुङ–५ का भरत खपांगीले बताए ।

फालेलुङ गाउँपालिकाको आहालमा पर्यटकीय संग्रहालय बनाउन लाग्दा एक साताअघि भारतीय सुरक्षाकर्मीले रोक लगाएका थिए । सीमाको जंगे पिल्लरभन्दा करिब सय मिटर वर नेपाली भूमिमा संग्रहालय बनाउन खोज्दा भारतीय सुरक्षाकर्मीले रोकेको गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङले बताए ।

भारतीय सुरक्षाकर्मीले नयाँ नक्साअनुसार दशगजामा पर्ने भन्दै निर्माणको काम रोकेका थिए । भवन बनाए भत्काइदिने चेतावनी उनीहरूले दिएका थिए । डिभिजन वन कार्यालय पाँचथरबाट प्राप्त १० लाख रुपैयाँबाट सन्दकपुर आहाल चौंरीपालन कबुलियती समूह ९क० ले वैशाख २४ गते संग्रहालयको भवन बनाउन थालेको थियो ।

भवनको जग खनिरहेका बेला २६ गते भारतीय सुरक्षाकर्मीले काम रोक्न भनेको समूहका अध्यक्ष नरबहादुर खपांगीले बताए । एसएसबीका सुरक्षाकर्मीले संग्रहालय निर्माणस्थलभन्दा केही पर्तिर रहेको ५७ नम्बर जंगे पिल्लरसमेत भारतकै भूमिमा रहेको दाबी गरेका थिए । स्थानीय बासिन्दाले उक्त स्थाननजिकै पहिले रहेको ५७र४ नम्बर सहायक पिल्लर पछिल्लो समय नदेखिएको बताएका छन् ।

जनप्रतिनिधिसहितको टोलीले मंगलबार उक्त स्थानको अवलोकनमा गरेको थियो । त्यसक्रममा भारतर्फबाट थोकुम, सन्दकपुर र जौबारी क्षेत्र हेर्ने दार्जिलिङको कालापोखरीस्थित एसएसबी क्याम्पका सुरक्षाकर्मीसित कुराकानी भएको थियो । उनीहरूले संग्रहालय बनाउने भनिएको स्थान आफ्नोतर्फ पर्ने दाबी गरेका थिए । सीमा क्षेत्रको कालापोखरी, थोकुम र सन्दकपुर नजिक एसएसबीको क्याम्प छ ।

 

                                                                                                                       कान्तिपुरबाट लिएको