साहित्य

नयाँ बुद्ध

-डा सुरेन्द्र सिटौला                                       – कविता

चकमन्न छ आज
शहर बुद्ध भएको छ
ज्ञान आत्तिएको छ
बिज्ञान !
तृष्णाको जाड खाएर
अस्ति देखि
निक्कै मात्तिएको छ
बिज्ञानको अभिमान
निक्कै पात्तिएको छ
तर
मात्तिएको बिज्ञान पनि
पात्तिएको अभिमान सगै
अकस्मात आज
किन किन आत्तिएको छ

ईश्वर हराउदा आस्थाको
चर्च, गुम्बा, मन्दीर अनि मस्जिद
सबै एक्लै छन
लाग्छ
मैले खोजेको ईश्वर
हिजोका भन्दा
अब अलि बेग्लै छन्
गुमनाम ईश्वरको पत्ता नलाग्दा
मान्छे आफै सग
डराउदै गएको छ
आपसमै उ पराइ भएको छ
त्यसैले
चकमन्न छ चारै तिर
कारण
मान्छे आफै सग हार्दै गएकोछ
परिणामतः
शहर बुद्ध भएको छ ।

शहरको बुद्धत्वमा
गाउँ छक्क छ
किन कि
शहर भन्दा गाउँ
ज्ञानमा अलि बढी नै परिपक्क छ
ईश्वर सुनसानमा गमक्क छ
मैले देखेको बिचरो पंक्षि
जङ्गलमै मगन – मक्ख छ
तर कसलाइ सोधु
म आत्तिएको देखेर
मेरो जिजिबिषाको बुद्ध
आफै सग दिक्क छ

लाग्छ
जिजिबिषाको नासो कसैलाइ सुम्पेर
टाढा गएर कतै
लुक्न पाए हुन्थ्यो
त्यही बसेर
जीवन र मृत्युको कहर सग नडराउने
नया बुद्ध !
भेट्न पाए हुन्थ्यो ।

हरि ॐ तत्सत !!