विचार/ब्लग

लकडाउनमा रासन पानी नै नभएपछि घर भित्रै मात्र के खाएर बस्ने ?

नविन बिक/ ग्वान्जाओ, चीन । अहिले पछिल्लो चरणमा नागरिकको टेस्ट बढे संगै कोरोनाको संक्रमित संख्या पनि ह्वात्तै बढेको छ। लकडाउन भनेर भित्रै बसेको पनि २ महिना कटीसेकको छ। एक दिन होईन दुई दिन होईन लगातार ६० दिन सम्म घरमै बसेर कसरी जीबन चल्न सक्छ ? ब्यापार बिग्रेर चौपट छ, बैकको ब्याज र किस्ता अर्को तिर छ, ल दुकान खुलेन, ब्यापार भएन केही छैन, बैकको ब्याज पनि जग्गा बेचैरै तिरौला, घर धितो नै बेचेरै तिरौला तर २ महिना सम्म घर भित्र बस्दा ग्यास, नुन, तेल, चामल, सब्जी लगायतका घरायसी सामान सकिएसी बाहिर खोज्न ननिस्के के गर्ने त ? के सरकारले यसको ब्यबस्थाको बारेमा कहिल्यै सोचेको छ? लक डाउन भन्दिएर मात्रै पुग्छ ? जनताले खान पर्दैन? बाँच्न पर्दैन?

ल बजार खुल्ने भयो, किन मेल गर्न पाईने भयो, भाटभाटेनी पनी खोले तर सामान किन्न जादा स्कुटी र मोटर साईकल पुलिसले लैजान्छ, चीट काटिदिन्छ, जिल्लामा लैजान्छ ,उस्तै परे भाटा पनि हान्छ, के तरिक हो यो ? यसरी कसरी लकडाउन सफल हुन्छ ?

मेरो घरमा प्रायः आमा संग दैनिक जसो कुरा हुन्छ , आमाले भन्नु भयो पैसा पनि सकियो खर्च छैन क्यार्ने होला ? बैकबाट पैसा झीकेर ल्याए भैहाल्योनी भन्दा, बजार जान पाईदैन, बाईक खोस्छ, उस्तै परे पुलिसले कुट्छन् पनि भन्नु भयो, अनी मैलै एक जना मेरा डाक्टर मित्रलाई फोन गरेर आफ्नो समस्या बताए पछि उहाले एक जना आफ्नो स्टाफ नर्स बैनीलाई पठाएर (किनकी उनको पास हुन्छ) मेरो घरमा खर्च पठाउने ब्यबस्था मिलाई दिनुभयो र त्यो खर्च आफुलाई मात्र नभई अरु समस्यामा परेका आफन्त ८–१० जनालाई पनि बाँडेर एक आपसमा काम चलाइयो । मेरो जस्तो सम्पर्क र सम्बन्ध पहुँच सबैको नहुन सक्छ, अनि जनता भोकै मर्ने? जनताले के खाने ? कसरी खाने? भोकाएसी सर्प त दुलो बाट बाहिर निस्कन्छ मानिस घरबाट बाहिर निस्कीन कत्रो कुरा भयो र ? अनि लक डाउनको पालना भएन मात्रै भनेर रोईलो गरेर हुन्छ?

म अहिले चीनमा छु, २ महिना पहिला म लगाएत तेरो परिवार नेपाल बाट चीन आउदा घरमै क्वारीनटीनमा बस्नु परेको थियो २ हप्ता सम्म तर हाम्रो बसाई एक दम सुबिधायुक्त थियो, हामीलाई चाहिने रासन पानी, दिनमा जति सामान मंगाए पनि १–२ घन्टा भित्र ल्याईदिन्थे र हामी मन परेका परिकार पकाएर मज्जाले खान्थ्यौ तर ती सबै सामनको पैसा हामी आफैले तिर्नु पर्थ्यो, हामीलाई केही कुराको असुविधा थिएन त्यसैले हामी चुपचाप घरमै बस्थ्यौ नत्र मेरा बच्चा र परिवार ले खान नपाएको भए म भाटा खाएरै भए पनि रासन पानी लिन बाहिर निस्कन बाध्य हुन्थे ।

नेपालमा पनि सरकारले प्रत्येक वडा कार्यालय मार्फत कम्तिमा पनि ५ वटा जति मोबाईल नम्बर ब्यबस्था गरेर भाईबर, मेसेन्जर, वा एसएमएस मा जनतालाई चाहिएको सामानको लिस्ट पठाउन लाउने र ती सामानहरु वडा कार्यालले तीनीहरुको घर घरमा पुर्याईदिन सजिलै सकिन्छ, यसरी सामान अर्डर गर्दा एक दिन अगाडी नै गर्नु पर्ने नियम गरेमा भिडभाड धेरै भन्दा धेरै हदसम्म नियन्त्रण हुन्छ र हप्ता वा १० दिनमा एक चोटी मोबाईल एटीएम (गाडीमा एटीएम मेशीन राखेर टोलको निश्चित ठाउमा ठाउमा पुर्याउने) को ब्यबस्था गर्ने, अहिले जति पनि मानिसहरु बाहिर निक्लिएका छन उनीहरु सबै रासन पानी र सब्जी किन्नको लागी निस्किएका छन् । यसमा सरकारले केवल समन्वय मात्रै गरिदिने हो, पैसा त जनताले नै तिरिहाल्छन नि, अब कोरोनाको संक्रमित संख्या बढ़े लगत्तै मृत्यु संख्या पनि बढनेमा कुनै संदेह छैन ।

लकडाउनको अबधि अझै बढ़ने छ । त्यसैले लकडाउन भनेर भाटा हानेर मात्रै हुदैन जनताको पिर मर्का जानेर, बुझेर अघि बढेमा अवस्य पनि जनताले साथ दिन्छन, जनातालाई पनि कोराना लागेर मर्ने रहर छैन, उनीहरु पनि बाहिर निस्कन डराउछन्, जनता पनि डराएका छन् तर घरमा रासन पानी नै नभएपछि घर भित्रै मात्र के खाएर बस्ने ? बाहिर निस्कनु उनीहरुको रहर हैन बाध्यता हो सरकार ।