पु.समाचार

तीन बालकसहित थप नौ जनामा सङ्क्रमण, नेपालमा पुग्यो २६७ जना

२ जेठ, काठमाडौं । कोभिड–१९ को सङ्क्रमण आज फेरि नौ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भेरी अस्पताल नेपालगञ्जमा परीक्षणका क्रममा नयाँ नौ जनामा सङ्क्रमण देखिएको बताए ।

नयाँ सङ्क्रमितमा पर्साका चार जना, उदयपुरका एक जना, दाङका तीन जना र काठमाडौँका एक जनामा सङ्क्रमण देखिएको हो । तीमध्ये तीन जना बालक, दुई महिला र चार पुरुष रहेका छन् ।

उनका अनुसार पर्सा वीरगञ्ज महानगरपालिकाका नौ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीया महिला रहेका छन् । यसैगरी उदयपुरको त्रियुगा नगरपालिकाका २५ वर्षीय पुरुष, दाङको गढवा गाउँपालिका वडा नंं ४ र ५ का २३ र ३६ वर्षीय पुरुष तथा तुलसीपुर उपमहानगरपालिकाका ३४ वर्षीय पुरुष रहेका छन् ।

यसैगरी नयाँ देखिएका सङ्क्रमिमध्ये काठमाडौँ सतुगङ्लका सात वर्षीय बालकसमेत रहेका छन् । योसँगै सङ्क्रमितको सङ्ख्या २६७ पुगेको छ । यसअघि आज नै आठ जना बाँके र एक जना मकवानपुर गरी नौ जनामा देखिएको थियो । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार सङ्क्रमितको अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।