पु.समाचार

भारतसँग सीमा विवाद नभएका ठाउँमा तत्काल तारबार लगाउन सझा पार्टीको माग

२ जेठ काठमाडौं । भारतसँग सीमा विवाद नभएका ठाउँमा तत्काल तारबार लगाउन सझा पार्टीले सरकारसंग माग गरेको छ । पार्टीका प्रवक्ता डा सुर्यराज आचार्यले आज विज्ञप्ति जारी गर्दै भारतसंगको खुल्ला सिमाका कारण सिमाका नेपलीहरुले विभिन्न समस्या भोग्नु परेको भन्दै यस्तो माग गरेका हुन् ।

सीमा क्षेत्रका स्थानीय वासिन्दाहरूलाई समस्या नपर्नेगरी नेपाल–भारत सीमामा निश्चित नाकाहरूमात्र अभिलेखीकरणको व्यवस्थासहित खुला गर्न र सिमानाका अन्य भागहरू तारबारसहित बन्द गर्न नेपाल सरकारसँग साझा पार्टीले माग गरेका छन् ।

दुई देशको खुला सिमानालाई सदीयौंदेखि दुई देशबीचको घनिष्ठ सम्बन्धको नमूनाका रुपमा हेरिँदै आएको भएपनि पछिल्लो समयमा दुवै मुलकका विकासका आकांक्षा, राष्ट्रिय सुरक्षाका चुनौति, अर्थतन्त्रको व्यवस्थापन, सामाजिक सुरक्षा कार्यक्रमको कार्यान्वयन लगायतका पक्षलाई ध्यानमा राख्दा खुला सीमा र अव्यवस्थित आवागमन दुबै मुलुकको हितमा नभएको साझा पार्टीको ठहर छ ।

यस्तै खुला सिमानाका कारण दुई देशबीचको सीमा निर्धारणका प्राविधिक कार्य समेत प्राथमिकतामा नपरेको, सयौँ सीमा स्तम्भहरू हराईरहेको, र्जनौँ सीमा स्तम्भहरू रातारात नेपाली भूभागतर्फ सारिएको, कयौँ ठाउँमा नेपालको लालपूर्जा हुँदाहुँदै नेपालीहरूले भूमीमाथिको स्वामित्व गुमाएको र ती भूमीमा भारतीयहरू खेती–किसानी गर्ने गरेको विगप्तिमा उल्लेख छ ।

यस्तै कयौँ ठाउँमा अन्तर्राष्ट्रिय कानून विपरीत सिमानामा बाँध तथा सडकहरू निर्माण गरिएका छन् जसले गर्दा नेपाली भूभाग तथा वस्तीहरू वर्षायाममा जलमग्न हुने त्यतिमात्र नभई सीमाक्षेत्र नजिक बस्ने धेरै नेपालीहरू भारतीय सीमा सुरक्षा बलको ज्यादतीबाट आक्रान्त बनेको भन्दै सिमामा तारबार लगाउत आवस्यक रहेको साझाको ठहर छ ।

साथै पछिल्लो समयमा भारतले कयौँ ऐतिहासिक दस्तावेज तथा नक्साहरूले प्रमाणित गरेको नेपाल–भारत सीमालाई समेत बेवास्ता गर्दै लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा खुल्लमखुल्ला नेपाली भूभाग अतिक्रमण गरेको र भर्खरै लिपुलेक भएर चिनको मानसरोवर जान खोलेको सडक त्यसैको चरम उत्कर्ष हो बताएको छ ।

खुला सिमानाले चोरी, डकैती, तस्करी लगायत राष्ट्रिय सुरक्षाका संवेदनशील पक्षहरूमा निम्त्याउने जटिलताहरू अनगिन्ती रहेको बताईएको छ । यस्तै देशबाहिर स्वदेशी नागरिक र देशभित्र विदेशी नागरिक कुन प्रयोजनका लागि कति संख्यामा छन् भन्ने अभिलेख कुनै पनि सार्वभौम मुलुकका लागि महत्वपूर्ण हुने भन्दै कोभिड-१९ को व्यवस्थापनमा समेत यस्तो सूचनाको महत्व खट्केको उल्लेख छ ।

भारतीय पक्षले बारम्बार नेपालको खुला सीमाको दुरूपयोगका कारण उसको राष्ट्रिय सुरक्षामा आँच पुगेको बताउने गरेको अवस्थामा सीमा क्षेत्रका स्थानीय वासिन्दाहरूलाई समस्या नपर्नेगरी नेपाल-भारत सीमामा निश्चित नाकाहरूमात्र अभिलेखीकरणको व्यवस्थासहित खुला गर्न र सिमानाका अन्य भागहरू तारबारसहित बन्द गर्न नेपाल सरकारसँग माग गरेको हो ।

त्यसको लागि राहदानी, नागरिकता र परिचयपत्रको साथै अन्य प्रविधिको सहयोगमा सीमा वारपारलाई नियमन गर्नु नेपाल र भारत दुवैको दीर्घकालीन हितमा भएको निश्कर्ष साझा पार्टीको छ । बढ्दोरूपमा गम्भीर देखिँदैगएको यो विषयमा भारत सरकारसँग कुटनीतिक र राजनीतिक तहमा वार्ता गर्न पनि साझा पार्टीले नेपाल सरकारलाई आग्रह गरेको छ ।

साथै द्विपक्षीय वार्तामा ढिलाई हुने अवस्था भएमा सीमा विवाद नभएका ठाउँमा नेपालले एकतर्फीरूपमै तारबार लगाउन पहल गर्न समेत हामी नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । हालसम्म प्रमुख दलहरूको संस्थागतरूपमा ध्यान नपुगेको यस विषयमा राष्ट्रिय सहमति कायम गर्न पनि सरकारले पहल लिनेछ भन्ने साझा पार्टीको अपेक्षा छ ।