पु.समाचार

काँग्रेसबाट बिजयी मेयर बस्नेतको बृद्ध/अपाङ्ग/एकल महिला/सुत्केरीलाई ५००० दिने निर्णय

३१ बैसाख, काठमाडौं । नागार्जुन नगरपालिकाले बन्दाबन्दी (लकडाउन)को समयमा नगरभित्रका बिरामीलाई आर्थिक सहयोग गरेको छ । कोरोना भाइरस (कोभिड १९)का कारणले उपचार खर्च अभाव नहोस् भनेर ज्येष्ठ नागरिक, अपाङ्गता, एकल महिला र सुत्केरी सबैलाई जनही रु पाँच हजार दिन थालिएको नगरपालिकाका प्रमुख मोहनकुमार बस्नेतले जानकारी दिए ।

उनले अस्पतालमा भर्ना भएका बिरामीलाई रकम उपलब्ध गराइएको बताए । नगरपालिकाले लकडाउनका बीचमा छ महिनासम्मका सुत्केरी र शिशुलाई समेत जनही रु पाँच हजार उपलब्ध गराउँदै आएको छ । उनका अनुसार अस्पतालमा भर्ना भएका र वडा कार्यालयको सिफारिस लिएर आउने बिरामीलाई आर्थिक सहयोग गरिएको छ । अहिलेसम्म १० बिरामीले आर्थिक सहयोग लिएका छन् ।

यसैगरी नगरपालिकाबाट सञ्चालित खानेपानीमा दुई महिनाको महसुल छुट गरिएको छ । लकडाउनका समयमा कहीँकतै आम्दानीको स्रोत नभएपछि नगरवासीलाई दुई महिनाको खानेपानी महसुल छुट गरिएको प्रमुख बस्नेतले जानकारी दिए । उनका अनुसार चैत र वैशाखको खानेपानी महसुल छुट गरिएको हो । नगरपालिका मातहतका ४० उपभोक्ता समितिबाट खानेपानी वितरण हुँदै आएको छ ।

ती उपभोक्ताले ६०० देखि चार हजारसम्म चैत र वैशाख महिनाको छुट पाउनेछन् । यसैगरी नगरपालिकाले लकडाउनका समयमा पनि विकास निर्माणका कामलाई निरन्तरता दिएको छ । उपप्रमुख सुशीला अधिकारीले लकडाउनका समयमा सडक, विद्युत्को पोल गाड्ने र खानेपानीका काम सञ्चालन भएको बताए । उनले कामदारलाई नगरपालिकाले खाद्यान्न उपलब्ध गराएर कामलाई निरन्तरता दिएको बताए ।

अहिले प्रत्येक वडामा सडक निर्माणको काम भइरहेको छ । नगरपालिकाले सीतापाइला, रामकोट, भीमढुङ्गा, धादिङ सडकखण्डको ११ किलोमिटर बाटोसमेत बनाइरहेको उपप्रमुख अधिकारीले जानकारी दिए । उनले मङ्गलबारदेखि आफू विकासनिर्माणका कामको अनुगमनमा पनि निस्केको बताए ।

“आर्थिक वर्ष सकिन थालेकाले विकास निर्माणका काम के कति भइरहेका छन् त्यसको अनुगमन गर्न थालेका छौँ”, उनले बताए, “अति आवश्यक काम हामीले सामाजिक दूरी कायम गरेर सम्पन्न गरिरहेका छौँ ।”

लकडाउनका समयमा पनि कार्यालय खुला

नगरपालिकाले लकडाउनको समयमा पनि कार्यालय खुला राखेर काम गरिरहेको छ । उपप्रमुख अधिकारीले २५ प्रतिशत कर्मचारी कार्यालयमा उपस्थित भएर अत्यावश्यक काम गरिरहेको बताए । उनका अनुसार अहिले विभिन्न विकास निर्माणका कामका लागि बोलपत्र आह्वान भइरहेको छ ।

यसैगरी नगरपालिकाले बन्दाबन्दीको समयमा समस्या परेका मजदुर, विद्यार्थी र कोठामा बस्ने २६ हजारलाई राहत वितरण गरेको छ । १५ केजी चामल, दुई केजी दाल, दुई केजी आलु, एक लिटर तेल, दुई केजी चिउरा उपलब्ध गराएको नगरपालिकाका योजना तथा प्रशासन शाखा प्रमुख नारायणप्रसाद तिमिल्सेनाले जानकारी दिए ।

यसैगरी नगरपालिकाले नगरभित्रमा सबै घरमा मास्क, स्यानिटाइजर वितरण गरेको छ । नगरपालिकाले कोभिड–१९ का सम्भावित बिरामी हेरी नौ आइसोलेसन वार्ड भीमढुङ्गामा र ३० वटा क्वारेन्टाइन श्यया बनाएको छ । यसैगरी विदेशबाट आएका ७८ जनाको आरडिटीबाट परीक्षण र १४० जनालाई होम क्वारेन्टाइनमा राखेको थियो ।

नगरपालिकाका प्रमुख बस्नेतले आगामी बजेटमा कोभिड– १९ का कारणले क्षति पुगेको कृषिलाई बजेट छुट्याउने बताए । उनका अनुसार तरकारी, फूलखेतीमा करिब सात करोडको क्षति भएको छ । प्रदेशसँग समन्वय गरेर कृषि क्षेत्रमा भएका क्षतिपूर्तिलाई सम्बोधन गर्ने गरी बजेट विनियोजन गर्ने उनले बताए ।