अन्तर्राष्ट्रिय

तत्काल कोरोनाको खोपको ग्यारेन्टी छैनः डा. एन्थोनी फौची

काठमाडौं । अमेरिकाका संक्रामक रोग विशेषक्ष डा. एन्थोनी फाउचीले कोरोना नियन्त्रणका लागि तत्काल खोपको सम्भावना नरहेको बताएका छन् ।

फाउचीले कोरोना नियन्त्रणका लागि खोपको विकास गर्ने प्रयास भइरहेको तर यो खोप प्रभावकारी हुन्छ अथवा हुँदैन कुनै ग्यारेन्टी नरहेको बताएका छन् ।

यद्यपि उनले अन्य भाइरसहरूको अध्ययनलाई उद्धृत गर्दै उक्त खोपले काम गर्ने आशा भने व्यक्त गरेका बीबीसीले जनाएको छ ।

अमेरिकाले मलेरियाको औषधि कोरोनाका बिरामीमा परीक्षण गरिसकेको छ । मलेरियाको औषधिले निको नभएपछि अहिले अमेरिकाले इबोलाको औषधि परीक्षण गरिरहेको छ ।

एन्थोनीले अमेरिकी सिनेटरहरुलाई लकडाउन खोल्नेबारे चेतावनी दिएका छन् । लकडाउनमा छुट दिने निश्चित मापदण्ड तयार नगरे त्यसले कोरोना नियन्त्रणको अभियानमा बाधा पुर्याउने उनको भनाइ छ ।

तत्काल लकडाउन खोल्ने हो भने कोरोनाको संक्रमण नियन्त्रण बाहिर जाने उनको चेतावनी छ । लकडाउनमा छुट दिएका राज्यमा कोरोनाको संक्रमण तीव्र गतीमा फैलिरहेको उनको भनाइ छ । लकडाउन खोले थप लाखौं जनता कोरोना संक्रमणको चपेटामा पर्नेतर्फ सेचत हुन सिनेटरहरुलाई उनको आग्रह छ ।

यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने गिर्दो अर्थतन्त्रलाई पुरानै अवस्थामा फर्काउन लकडाउन खोल्नुपर्ने बताउँदै आएका छन् ।

एन्थोनीले आगामी सेप्टेम्बरमा कोरोना संक्रमण फेरि बढ्न सक्ने बताएका छन् । उनले भने, कोरोना संक्रमणको अर्को चरणमा प्रवेश गर्ने खतरा छ, त्यसैले हामीले यसको बारेमा धेरै प्रभावकारी रूपमा सोच्नु पर्छ । २१५ देशमा फैलिएको कोरोनाको प्रभाव विश्वमा सबैभन्दा धेरै अमेरिकामा परेको छ ।