खेलकुद

भारतमा हुने फिफा अण्डर–१७ महिला विश्वकप फुटबलको नयाँ मिति तय

३१ बैशाख काठमाडौं । भारतमा आयोजना हुने फिफा अण्डर–१७ महिला विश्वकप फुटबलको नयाँ मिति तय भएको छ । कोरोना भाईरसको महामारीको कारण स्थगित प्रतियोगिता अर्को वर्ष हुने भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप सन् २०२१ को फेब्रुवरी १७ देखि ७ मार्चसम्म हुने जनाएको छ ।

यस अघि प्रतियोगिता यहिँ नोभेम्बर २ देखि २१ सम्म भारतको विभिन्न पाँच शहरमा हुने तय थियो । यस्तै फिफाले अण्डर–२० महिला विश्वकप आगामी वर्षको जनवरीमा गर्ने जनाएको छ ।

कोस्टारिका र पानमामा तय भएको प्रतियोगिता जनवरी २० देखि ६ फेब्रुवरीसम्म हुनेछ । यस अघि सेप्टेम्बर र अगष्टमा तय भएको थियो ।

फिफाले लिथुनियामा हुने फुटसलको विश्वकपको समेत नयाँ मिति तय गरेको छ । फिफाले सन् २०२१ को सेप्टेम्बर १२ देखि ३ अक्टोबरसम्म हुने जनाएको छ ।