अन्तर्राष्ट्रिय

सिरियाली व्यापारमन्त्री बर्खास्त

एजेन्सी । सिरियाली राष्ट्रपति बसर अल असदले आन्तरिक व्यापार तथा उपभोक्ता संरक्षण मन्त्रीलाई पदबाट सोमबार बर्खास्त गरेको सिरियाली समाचार संस्था सानाले जनाएको छ ।

राष्ट्रपतिले आन्तरिक व्यापारमन्त्री अतेफ नादाफ मन्त्रीलाई पदबाट बर्खास्त गर्दै उनको स्थानमा तलाल बाराजीलाई उक्त पदमा मनोनयन गरेका छन् ।

समाचारमा राष्ट्रपतिले किन मन्त्री नादाफलाई बर्खास्त गरेको भन्नेबारे खुलाइएको छैन तर विश्लेषकहरूले उक्त निर्णय सिरियामा देखिएको खराब आर्थिक अवस्थाको पृष्टभूमिमा गरेको बताइएको छ ।

सिरियामा पछिल्लो समय खाद्यान्न लगायतका अति आवश्यकीय सामानहरूमा समेत अत्यधिक मूल्यवृद्धि भएको र नादाफले यसलाई नियन्त्रणमा राख्न नसकेको बताइने गरिएको थियो ।

बाराजीले सन् २०१३ देखि सिरियाली विद्रोही समूहको प्रभाव क्षेत्र मानिने होम्स राज्यको गभर्नरका रूपमा काम गर्दै आएका थिए । सिरियामा उनका कैयौँ व्यवसायिक आयोजनाहरू सञ्चालन गर्दै आएका छन् ।