स्वास्थ्य

कोरोना संक्रमण यसरी नियन्त्रण गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

३० बैसाख, काठमाडौं । आज ५७ १७ . ७४ जनाको कोरोना संक्रमण पोजिटिभ देखिएसंगै नेपालमा २०८ जनामा संक्रमण देखिएको छ । ३१ जना निको भएर घर फर्किएका छन् । हालसम्म नेपालमा १७७ जना संक्रमित रहेका छन् । झट्ट हेर्दा एक दिनमा ५७ जना थपिए पनि चिन्तित हुनुपर्ने अवस्था छैन ।

– बिगत ६ दिन यता देखिएका अधिकांश संक्रमित भारतमा संक्रमित भएर लुकिछिपी नेपाल पसेका व्यक्ति हुन् । उनीहरु नेपाल आएपछि क्वारेन्टाइनमार्फत परिक्षणमा गएका हुन् । यदि उनीहरु नेपालमै बसेका संक्रमित भएको भए समुदायमा फैलिएको डर हुन्थ्यो । उतै संक्रमित भएर आएको हुनाले यता धेरै जनालाई सार्न पाएका छैनन् । यद्यपी यो संख्या अझ बढ्नेछ ।

–नेपाल र भारतबीच प्रधानमन्त्री स्तरमा उताका नेपालीलाई भारतले क्वारेन्टाइन र परिक्षण र उपचार गर्ने अनि यताका इन्डियनलाई नेपालले क्वारेन्टाइन र परिक्षण र उपचार गर्ने सहमति भएको कुरा मेडियामा आएको थियो । नेपालले भारतीयलाई यहीं परिक्षण तथा उपचार गरेको छ, उता जान दिएको छैन तर भारतबाट संक्रमित नेपालीलाई नेपाल आउन दिएकोप्रति यथेष्ट ध्यानाकर्षण हुनु जरुरी छ ।

– नेपालले आफ्ना सिमाबासीलाई राहत दिएर सुरक्षाकर्मीसंग संयुक्त गस्ती गर्ने र ठाउँ ठाउँमा CCTV राख्ने तथा सुरक्षाको अर्को तह थप्नु जरुरी देखियो ।

– अझै पनि नेपाल आन्तरिक रुपमा सुदृढ छ । लकडाउनको ब्यबस्थापन गर्ने हो भने अझै पनि डर मान्नुपर्ने अवस्था छैन तर बिगत १० दिन यता जसरी संक्रमित क्षेत्रबाट मान्छेको आवात भएको छ, यसलाई उतैबाट नरोक्ने हो भने सहरी क्षेत्रमा संक्रमण फैलिने खतरा हुन्छ । सहरी क्षेत्रमा संक्रमण फैलियो भने नियन्त्रण गर्न निकै कठिन हुन्छ । तसर्थ सरकारले संक्रमित क्षेत्रबाट हुने आवतजावतलाई पूर्ण रुपमा बन्द गर्नुपर्दछ ।

– लकडाउनलाई परिणाममुखी बनाउन बिभिन्न चरण अपनाउनु पर्ने हुन्छ । मान्छेको भीडभाड कम गर्ने उपायहरु अपनाउनु पर्दछ । मजदुरलाई आबासीय रुपमा काममा लगाउनुपर्छ । परिक्षणको दायरा ब्यापक रुपमा बढाउनु पर्छ । बिज्ञहरुको टास्क फोर्स बनाउनु पर्छ ।

– कोरोना संक्रमण नियन्त्रणको माइको म्यानेजमेन्ट हुन सकेको छैन । विपदको बेलामा सम्पूर्ण जनता, सरकार, पार्टी तथा मेडिया एकजुट भएर काम गर्नुको बिकल्प छैन । सबैका दृष्टिकोणलाई मानव जीवनको रक्षार्थ सदुपयोग गर्नु पर्दछ ।

–हामी नागरिक बिना काम घर बाहिर निस्कने नगरौं । घरबाहिर जाँदा अनिबार्य रुपमा मास्क, चस्मा, पंजा तथा आउटर लगाउने गरौँ । साबुनपानीले पटकपटक हात धुने गरौँ । न्युनतम २ मिटरको व्यक्तिगत दुरी कायम गरौँ ।

– नेपालमा अहिलेसम्म १ जना संक्रमित पनि गम्भीर भएको अवस्था छैन । एक जनालाई पनि आइसीयुमा राख्नुपरेको छैन। एक जनालाई पनि भेन्टिलेटरमा राख्नु परेको छैन । कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । तसर्थ डर नमानौं, सतर्क बनौं । बलियो आत्मबलले कोरोना भाइरसलाई परास्त गर्न सक्षम हुनेछ ।