बाग्मती

लिपुलेकमा सुरक्षा निकार्यको कमजोरी छ, प्रधानमन्त्री र गृहमन्त्रीको ध्यान जाओस्

रमेश आचार्य/३० बैसाख, काठमाडौं ।

सुरक्षा निकायका तिनवटै (नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग) प्रमुख माथि गम्भीर आशंका !

सन्दर्भः–
लिपुलेक सडक पछि केही दिन अगाडि रौतहट जिल्लाको दशगजा क्षेत्रमा भारत सरकारले बाँध बनाउन सुरु गरेको छ।
सम्माननीय प्रधानमन्त्री श्री के.पि.शर्मा ओली ज्युले भारत भ्रमण गर्दा तराईका विभिन्न भु–भागमा भारतले बनाएको बाँधका कारण तराई बासीले वर्षात याममा डुबानका कारण भोग्नु परेको पीडा बारे भारतका सम्माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदी ज्यु सँग गम्भीर वार्ता गर्नुभएको थियोे । प्रधानमन्त्री स्तरको वार्तामा बाँधका कारण उत्पन्न डुवान समस्याको समाधान प्रत्येक वर्ष हुने दुई देशका उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री स्तरीय बैठकबाट हल गर्ने समझदारी भएको थियो ।

सोही समझदारी मुताविक तत्काल बसेको दुई देशका उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री स्तरीय बैठकले दुई देशका प्रतिनिधि सम्मिलित वार्ता टोली गठन गर्ने र उक्त टोलीले निकालेको निष्कर्ष अनुसार डुवान समस्या समाधान गर्ने निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयन का लागि नेपाल सरकारले पटक–पटक जोड गर्दा पनि हालसम्म भारत सरकारले बेवास्ता गर्दै आईरहेको छ ।

नेपाल सरकारलाई लागेको थियो केही समय ढिलै भएपनि निर्णय कार्यान्वयनमा भारत सरकार इमानदार हुने नै छ । तर नेपाल सरकारको सदासयता र दुई देशका मन्त्री स्तरीय बैठकको निर्णय तथा नेपाल सरकारको सहमति विपरीत केही दिन अगाडि भारत सरकारले रौतहट जिल्लाको दशगजा क्षेत्रमा अर्को बाँध थप गर्न निर्माण कार्य सुरु गरेको छ। उक्त कदमको स्थानीय प्रशासनले विरोध गरेका कारण निर्माण कार्यले सुस्तता पाएतापनि भारतीय पक्ष बाँध निर्माण गरेरै छोड्ने मानसिकतामा रहेको देखिन्छ ।

राष्ट्रिय स्वाभिमानमा आँच आउने यस्ता कदमका बारेमा गृह प्रशासन किन मौन छ? कतै गृह प्रशासनको जिम्मेवारीमा बसेका व्यक्तिहरु नेपाली जनताले तिरेको करबाट दानापानी खाएर अरु कसैको सेवा गरि राष्ट्रियताका प्रतीक के.पि.शर्मा ओलीलाई असफल बनाउने भुमिका त खेलिरहेका छैनन् ? गम्भीर प्रश्नचिन्ह खडा भएको छ।

देश र जनताको सुरक्षाको जिम्मेवारी पाएका नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सुचना संकलन र सम्बन्धित निकायमा सुचना प्रवाह गर्न किन ढिलाइ गरीरहेका छन्? २०७७ बैशाख –२६ गते सार्वजनिक लिपुलेक सडक र २०७७ बैशाख २८ गते सार्वजनिक दशगजा बाँध भारतीयले चालेको कदम बाट उँहाहरुको भुमिका माथि गम्भीर आशंका पैदा गरेको छ। देशको सुरक्षा निकायका प्रमुखहरु माथि नै आशंका पैदा हुनु सामान्य अवस्था होइन । कृपया प्रधानमन्त्री ज्यु र गृहमन्त्री ज्युको समयमै ध्यान जाओस् नत्र भित्री षड्यन्त्रले गम्भीर दुर्घटना निम्त्याउन सक्छ। सबैलाई चेतना भया !

( आचार्य नेकपा अधयक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका पुर्ब स्वकीय सचिव तथा नेकपाका युवा नेता हुन् ।)