आर्थिक

लकडाउनका कारण सेयर बजारमा आजदेखी कारोबार हुने

३० बैशाख काठमाडौं । लकडाउनका कारण लामो समयसम्म बन्द रहेको सेयर बजारमा मंगलबार (आज)देखि कारोबार हुने भएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन गरेसँगै बन्द भएको सेयर बजार लकडाउन खुकुलो भएपछि खुलेको हो ।

धितोपत्र बजारमा सेयरको खरिद बिक्री मंगलबादेखि हुने भएपछि बजारसँग सम्बद्ध संस्थाहरू भने आइतबारदेखि नै खुलेका थिए । बजारमा अस्वाभाविक उतारचढाव नियन्त्रणको संयन्त्र बनाएर नयाँ व्यवस्थासहित मंगलबारदेखि सेयर कारोबार हुनेछ । आइतबार र सोमबार आवश्यक तयारी गरी मंगलबारदेखि सेयर कारोबार खुलाउने अर्थात मेरो सेयरमा नजोडिएका लगानीकर्तालाई मेरो सेयरमा आवद्ध हुन तथा कनेक्स आइपिएसमा आवद्ध हुनका लागि समय उपलब्ध गराएको हो ।

नेपाल धितोपत्र बोर्डले शुक्रबार नेप्सेलाई आगामी आइतबारदेखि कार्यालय तथा मंगलबारदेखि बिहान ११ बजेदेखि १ बजेसम्म दैनिक २ घण्टा कारोबार संचालन गर्न निर्देशन दिएको थियो । चैत १० गतेदेखि बन्द रहेको सेयर बजार ५० दिनपछि खुलृको हो ।

बोर्डले डिजिटल कारोबारका लागि ब्रोकर तथा नेप्सेलाई प्रोत्साहन गर्ने निर्देशन दिएको छ । सरकारले लकडाउनलाई केहि खुकुलो बनाएर बैंक तथा वित्तीय क्षेत्र, बीमा र धितोपत्र तथा सहकारी संस्था मार्फत हुने अति आवश्यक सेवा प्रवाह गर्न दिने निर्णय गरेसँगै सेयर कारोबार सुचारु हुन लागेको हो ।

बोर्डले बजारमा उच्च चलखेल हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै नेप्से परिसूचक दुई प्रतिशत घटेवा बढे सर्किट ब्रेकरको प्रयोग गरी बजार बन्द गर्ने व्यवस्था गरेको छ । कोरोनाको प्रभाव रहुन्जेल यो व्यवस्था लागु हुनेछ । त्यसैगरी बोर्डले कम्पनीको सेयर कारोबारको हकमा १० प्रतिशतसम्म मूल्य तलमाथि गर्न सकिने व्यवस्थालाइ घटाएर ३ प्रतिशतमा झारेको छ ।

सेयर मूल्यमा ३ प्रतिशत घटबढ हुुने व्यवस्था गरिएको छ । यसअघि अघिल्लो दिनको कारोबार मूल्यमा ५ प्रतिशतसम्म वढाएर वा घटाएर कारोबार गर्न सकिने व्यवस्था थियो । त्यसलाइ यो अवधिमा एक प्रतिशतमा मात्र सिमित गरीएको छ भने कारोबार सुचारु भइसकेपछिको कारोबारमा २ प्रतिशतभन्दा धेरै सेयर मूल्य घटबढ गरेर मात्र कारोबार गर्न सकिने व्यवस्था गरेको छ । यो व्यवस्था भने विगतकै कायम राखेको हो ।