खेलकुद

इंग्लिस प्रिमियर लिग सञ्चालन गर्नेबारे आज क्लबहरुबीच छलफल हुँदै

२९ बैशाख काठमाडैं । कोरोना भाइरसको संक्रमणका कारण सिजनको बिचमै रोकिएको लिगलाई पुनः सञ्चालन गर्ने विषयमा इंग्लिस प्रिमियर लिगका क्लबबिच आज छलफल हुँदै छ । लिगका क्लबहरुबिच यो सिजनका बाँकी खेलहरु गर्ने सम्बन्धी छलफल सोमबार हुँन लागेको हो ।

यसअघिका छलफलमा न्यूट्रल भेन्यूको प्रस्ताव गरिए पनि त्यसमा सबै क्लब सहमत देखिएका थिएनन् । २० मध्ये १४ क्लब पक्षमा आए भने मात्रै न्यूट्रल भेन्यूमा खेल गर्न बाटो खुल्छ । त्यसका लागि १० वटा न्यूट्रल भेन्यूमा खेल गर्ने गरी क्लबहरुबिच छलफल जारी छ ।

तर पुछारका टिमहरुले भने यसले खेलको वास्तविक मर्म नसमेट्ने र रेलिगेशनमा पर्ने जोखिमकाबीच न्यूट्रल भेन्यूमा खेल्न नसक्ने बताउदै आएका छन् ।

बेलायत सरकारले सोमबार केही खेलाडीहरुले सुरुवाति चरणको प्रशिक्षण सुरु गर्न पाउने घोषणा गर्ने अपेक्षा छ । तर हिजो केही क्लबका खेलाडीमा कोरोना भाईरसको संक्रमण पुष्टि भएसंगै थप अन्योलता थपिएको छ । कोरोना भाइरसको महामारीका कारण गत मार्च १३ देखि रोकिएको प्रिमियर लिगको यो सिजनका ९२ खेल हुन बाँकी छ ।