विचार/ब्लग

लकडाउन फितलो हुँदा संक्रमणको जोखिम झन् बढ्योः जनस्वास्थ्य विज्ञ

डा. रवीन्द्र पाण्डे/ आजको काठमाडौंको ट्राफिक जाम तथा घुमफिर डरलाग्दो छ । डेढ महिनाभन्दा लामो लकडाउनको अर्थ अब रहेन । दुवै सदनका सांसद, संसद सचिबालयका कर्मचारी तथा बडीगार्डलाई PCR Test गरेर नेगेटिभ रिपोर्ट आएपछि लकडाउन पूर्ण रुपमा खोलिएको छ । आज देखिएको भीडभाड र सुरक्षाकर्मीको मौनताले प्रष्ट हुन्छ कि सरकारले उनीहरुलाई बिशेष निर्देशन दिएको छ, लकडाउन खोल्नको लागि ।

छिमेकी देश भारतमा कोरोना संक्रमित बढेकोबढ्यै छन् । सिमानाबाट नेपाल प्रवेश गर्नेको संख्या बढिरहेको छ । भैरहवा लगायतका ठाउँमा भारतबाट कामदार नेपाल आएर निर्माणको काम आज सुरु भएको छ । यो अवस्था सायद नेपालका सबै सिमाबर्ती जिल्लामा सुरु भएको छ ।

सरकारले काठमाडौंबासीको Random Sampling को आधारमा न्युनतम ३० हजार जनाको एऋच् त्भकत गरेर नेगेटिभ आएको भए लकडाउन केहि खुकुलो गर्न मिल्ने थियो । सिमाना १०० प्रतिशत शिल गरेर तथा सिमाबर्ती प्रत्येक जिल्लामा न्युनतम दश र दश हजारको दरले PCR Test गरेर सुरक्षित देखेको भए लकडाउनको मोडालिटी फेर्न मिल्ने थियो । कुनै जांच नगरि, पर्याप्त औषधि र उपकरणको ब्यबस्था नगरि, अन्य कुनै आकस्मिक तयारी नगरि तथा बिज्ञहरुको सल्लाह नलिइ मनगढन्ते रुपमा यसरी लकडाउन खोल्नु सरकारको गैह्रजिम्मेवारी कदम हो ।

अहिलेसम्म लकडाउनले घरभित्र रहेका संक्रमितहरु आजदेखि सडकमा आएका छन् । संक्रमित र स्वस्थ घुलमिल भएका छन् । आजको घटनाले गर्दा भोलिदेखि लकडाउन उल्लङ्घन गर्नेको संख्या ह्वात्तै बढ्नेछ । यस्तो घनाबस्तीमा कोरोना संक्रमण फैलियो भने यो नियन्त्रण गर्न सरकारले सक्ने छैन। विश्व स्वास्थ्य संगठनले लकडाउन नखोल्न सरकारलाई बारम्बार भनिरहेको, जुन र जुलाईमा नेपाल तथा भारतमा कोरोना संक्रमण उच्चबिन्दुमा पुग्ने बताएको तथा नेपालमा तीसौं हजार संक्रमित हुनसक्ने बताएको परिप्रेक्ष्यमा लकडाउनमा एकैपटक यो किसिमको लापरबाही हुनु निकै खेदजनक छ । भिजन भएका, देश र जनताको माया भएका, व्यक्तिगत स्वार्थ नभएका बिज्ञहरुको समिति बनाएर यस्ता निर्णय गरेको भए नेपाल जोखिमको मार्गमा जाने थिएन ।

सरकारले बस्तुस्थितिको मुल्यांकन गर्न नसकेपनि हामी जनताले परिस्थिति बुझ्नु जरुरी छ । सहरी क्षेत्रमा कोरोना संक्रमण फैलिन नदिन हामी जनता जिम्मेवार बन्नुको बिकल्प रहेन । कृपया ! जरुरी काम बाहेक घरभित्र बस्नुहोला । हाम्रो सानो असावधानीले हामी, हाम्रो परिवार तथा समाज संक्रमित हुनसक्छ । अहिल्यै यो स्तरको लकडाउन खोल्ने बेला भएको छैन ।

सरकारले न्यून आय भएका बर्गलाई ठोस राहत दिएर लकडाउनलाई ब्यबस्थित गराउन जरुरी छ । मानबिय क्षति अपुरणीय हुन्छ, यो तथ्य सरकारले समयमै बुझोस् । जनस्वास्थ्यमाथि अल्पदृष्टिको कारण गम्भीर संकट नआओस ।

अन्त्यमा कोरोना भाइरसले ठूलो सानो, यो पार्टीको र त्यो पार्टीको, यो पदको र त्यो पदको भन्दैन । जनपक्षीय कुरा उठान गर्न पार्टीको घेरा नहेरौं । हामी सबै एकै डुंगामा छौं, डुंगा डुब्यो भने हामी सबै डुब्नेछौं !