खेलकुद

खेलका दौरान पाँच खेलाडी परिवर्तन गर्न फिफाले दियो अनुमति

एजेन्सी । क्लबले खेलका दौरान पाँच खेलाडी परिवर्तन गर्न पाउने भएका छन् । कोरोनाका कारण रोकिएको फुटबल सुरु हुने बित्तिकै क्लबले एउटै खेलमा ५ खेलाडी परिवर्तन गर्न पाउने भएका हुन् ।

खेलको नियम नियन्त्रण गर्ने निकाय अन्तराष्ट्रिय फुटबल एसोसिएसन बोर्ड (आईएफएबी) ले खेलाडीको सुरक्षाका लागि थप खेलाडी परिवर्तन गर्न पाउने नियममा सहमती जनाएको बताएको छ ।

आईएफएबीले फिफा समक्ष नयाँ नियम स्विकृतीका लागि आग्रह गरेको थियो । फिफाले सबै प्रतियोगितामा सो नियम लागू गर्न निर्देशन दिएको हो । उसले यस वर्षको डिफेम्बर ३१ भित्र सञ्चालन हुने सबै प्रतियोगितामा सो नियम लागू गर्न निर्देशन दिएको हो ।

युरोपका धेरै प्रतियोगिता सहित युरोपा लिग र च्याम्पियन्स लिगका अधिकांश खेल बाँकी छन् । हरेक टिमलाई तीन पटक खेलाडी परिवर्तनका लागि समय उपलब्ध गराईनेछ । सो समय टिमले एक भन्दा बढी परिवर्तन गर्न सक्नेछ । टिमले मध्यान्तरको ब्रेकमा समेत खेलाडी परिवर्तन गर्न पाउनेछ ।