पु.समाचार

स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा, बैठक बस्न दूरी कायम हुनेः सभामुख

२६ बैसाख, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कोभिड–१९ को जोखिम हुन नदिइ संसद बैठक सञ्चालन गर्न सांसद र सम्बन्धित कर्मचारीको स्वास्थ्य सुरक्षाका लागि आवश्यक सबै मापदण्ड पूरा गरिएको जानकारी दिएका छन् । उनले भने,“ वर्तमान परिस्थितिमा सङ्घीय संसद्को बैठक शुरु गर्नुपर्ने आवश्यकता छ । बैठकका लागि कोरोनाको जोखिम हुन नदिन आवश्यक सबै मापदण्ड पूरा गरिएको छ ।”

सञ्चारकर्मीसँगको भेटमा आज उनले विश्व स्वास्थ्य सङ्गठनले निर्देशन गरेका मापदण्ड पूरा गरी स्वास्थ्य क्षेत्रका विज्ञसँगको समन्वयमा बैठक सञ्चालनको तयारी गरिएको र सबै सांसद र सम्बन्धित कर्मचारीको स्वास्थ्य परीक्षण गरिएको बताए । संवैधानिक व्यवस्थाअनुसार अगामी जेठ १५ गते बजेट ल्याउनुपर्ने र त्यसअघि पूर्वतयारीका छलफल तथा अन्य कार्यक्रमका लागि हाल बजेट अधिवेशन प्रारम्भ गर्नुपरेको उनको भनाइ थियो ।

कोरोना सङ्क्रमण रोकथामका लागि सतर्कता अपनाउन सांसद बस्ने सिटमा दायाँबायाँ एक मिटर ५० सेन्टीमिटर र पछाडि एक ३० सेन्टीमिटर दूरी कायम गरिएको छ । त्यसैगरी संसद्को छैटौँ अधिवेशन आजदेखि शुरु हुने भएपछि कोभिड–१९ भए÷नभएको निक्र्योल गर्न दुवै सदनका सांसद्, कर्मचारी तथा मर्यादापालक गरी ४४१ जनाको बिहीबार थ्रोट स्वाब सङ्कलन गरिएको थियो ।

सङ्घीय संसद्का प्रतिनिधिसभामा २७५ र राष्ट्रियसभामा ५८ सांसद छन् । बाँकी सांसद, सुरक्षाकर्मी र कर्मचारीको आज स्वास्थ्य परीक्षण गरिने जनाइएको छ । बिहीबार सङ्कलित स्वाबको रिर्पोट ढिलामा आज अपराह्न ३ बजेसम्म आइपुग्ने र त्यसका आधारमा प्रवेश गराएर मात्र बैठक सञ्चालन गर्ने तयारी गरिएको छ ।

सभामुख सापकोटाले आज अपराह्न ४ बजे संसद् बैठक प्रारम्भ हुने, यही वैशाख २८ गतेदेखि ३० गतेसम्म प्रि बजेट छलफल हुने, आगामी जेठ २ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने, जेठ १३ गते आर्थिक सर्वेक्षण र जेठ १५ गते बजेट प्रस्तुत हुने कार्यक्रम तय भएको जानकारी दिए । राष्ट्रपतिले यही वैशाख २१ गते प्रधानमन्त्रीको सिफारिसमा सङ्घीय संसद्को छैटौँ अधिवेशन शुक्रबारका लागि आह्वान गरेका थिए ।