खेलकुद

नेदरल्याण्डमा भ्याक्सिन नबनेसम्म खेलकुद दर्शक बिनै हुने

२६ बैशाख काठमाडौं । कोरोना भाईरसको भ्याक्सिन नबनेसम्म नेदरल्याण्डमा खेलकुद प्रतियोगितामा दर्शकलाई प्रवेश निषेध गरिने भएको छ ।

नेदरल्याण्डका खेलकुद मन्त्री ह्युगो डी जोन्जीले कोरोनाको भ्याक्सिन नबनेसम्म देशको खेलकुद कार्यक्रममा दर्शकबिनै सञ्चालन गरिने बताएका हुन् ।

प्रधानमन्त्री मार्क रुटीले बुधबार सम्पूर्ण आयोजकलाई सेप्टेम्बर १ सम्म खेलकुद कार्यक्रम स्थगित गर्न निर्देशन दिएका थिए । तर खेलकुद मन्त्री डी जोन्जीले भ्याक्सिन नबनेसम्म दर्शक जम्मा हुन निषेध गरिने बताएका हुन् ।

कोरोनाबाट नेदरल्याण्डमा ४१ हजार मानिस संक्रमित बनेका थिए । जसमा ५ हजार २ सय ८८ जनाले ज्यान गुमाएका थिए । कोरोनाकै कारण डच फुटबलको यस बर्षको सिजन रद्ध गरिएको थियो ।