प्रदेश 2

हात्तीको आक्रमणबाट मृत्यु

सप्तरी, २५ वैशाख । हात्तीको आक्रमणबाट सप्तरीको शम्भुनाथ नगरपालिकाकी एक महिलाको आज मृत्यु भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको समूहको आक्रमणबाट शम्भुनाथ नगरपालिका–२ स्थित भलुवाही टोलकी ३८ वर्षीया महिला जानकी मगरको मृत्यु भएको स्थानीय राजु जयसवालले बताएका छन् । जानकीको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल ल्याइएको छ ।

जायसवालका अनुसार तीनवटा हात्तीको समूहले लक्ष्मण मण्डल र बलराम इशरको घर भत्काएको छ । दुई दिनअघि हात्तीको समूहले अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ स्थित रामटोलका वीरेन्द्र राम, श्यामकुमार राम, लक्ष्मीदेवी राम र नारायण रामको घर तोडफोड गरेर खाद्यान्न खाई क्षति पुर्याएको थियो ।

ट्रकमा ठोक्किएर युवकको मृत्यु

सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ सीतापुरमा आज भएको दुर्घटनामा एक युवकको घटनास्थलमै मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गस्थित सवारी साधन मर्मत गर्ने ग्यारेज अगाडि सडक किनारमा रोकिराखेको ना३ख ६१२६ नंको ट्रक पछाडि ठोक्किएर स ८ प ५६२९ नंको मोटरसाइकल सवार अग्निसाइर कृष्णसवरण गाउँपालिका–४ प्रसवनीका २३ वर्षीय विक्रम सरदारको घटनास्थलमै मृत्यु भएको स्थानीय तारकेश्वर सिंहले जानकारी दिएका छन् ।

उनिसँगै मोटरसाइकल पछाडि रहेका सोही ठाउँका २६ वर्र्षीय तरुण सरदार गम्भीर घाइते भएका छन् । घाइते तरुणलाई उपचारका लागि न्यूरो अस्पताल विराटनगर लगिएको छ । उनिहरु बिहानै माछा मार्न घरबाट निस्कीएको स्थानीय रमेश चौधरीले जानकारी दिएका छन् ।