अन्तर्राष्ट्रिय

महाराष्ट्र सरकारले उपचारका लागि केन्द्र सरकारसँग अपिल गर्यो

एजेन्सी । भारतको महाराष्ट्र सरकारले कोभिड १९ संक्रमणको उपचारका लागि अस्पतालहरु उपलब्ध गराइदिन भारतका केन्द्र सरकारलाई अपिल गरेको छ । महाराष्ट्रमा कोभिड १९ का विरामी बढ्दै गएपछि उनीहरुको उपचारका लागि आफ्नो राज्यमा रहेका अस्पतालहरु पर्याप्त नभएको भन्दै सो अपिल गरेको हो ।

महाराष्ट्र राज्यका मुख्यमन्त्री उद्धव ठाकरेको कार्यालयबाट बुधबार बिहान जारी भएको अपिलमा भारतको केन्द्रीय सरकारको मातहतमा रहेका स्वास्थ्य संस्था तथा अस्पताललाई उपलब्ध गराइदिन भनिएको छ । यसका लागि भारतको केन्द्र सरकारका विभिन्न निकाय तथा विभागहरुलाई आग्रह गरिएको छ ।

ती विभागहरुलाई आफ्नो राज्यमा विरामीहरुको संख्या अकल्पनीय रुपमा बढ्दै गएको र भोलिका दिनमा उपचारका लागि स्वास्थ्य संस्थाहरु नै उपलब्ध हुन सक्ने अवस्था पनि नरहन सक्ने भन्दै सो अपिल गरिएको बताइएको छ ।

यही मे महिनाभित्रै महाराष्ट्रमा अतिरिक्त आइसियु कक्षका साथै औषधि तथा स्वास्थ्यकर्मीहरुको संख्यामा पनि बृद्धि गर्नुपर्ने अवस्था रहेको सो अपिलमा भनिएको छ । यस राज्यमा भारतका अन्य राज्यको तुलनामा सबैभन्दा धेरै संक्रमित रहेका छन् । यहाँ दिन प्रतिदिन कोरोनाका संक्रमित थपिँदै गएका छन् ।