अन्तर्राष्ट्रिय

कोरोनाका कारण इन्डोनेसियामा निर्वाचन धकेलियो

एजेन्सी । कोरोना भाइरसको सङ्क्रमणका कारण इन्डोनेसियामा पूर्वनिर्धारित निर्वाचन पछाडी धकेलिएको छ । आगामी सेप्टेम्बर २३ तारिखका लागि निर्धारण गरिएको निर्वाचन पछाडी धकेलिने भएको अधिकारीहरुले जनाएका छन् । यस निर्वाचनका लागि झण्डै एक अरब मतदाता रहेका छन्।

राष्ट्रपति जोको विडोडोले सोमबार एक निर्देशन जारी गर्दै यस पुर्वनिर्धारित निर्वाच पछाडी सरेको घोषणा गरेका छन् । उनले सेप्टेम्बरका लागि तय गरेको निर्वाचन डिसेम्बरमा हुनेगरी तय गरिएको जानकारी दिएका छन् । अहिले सारेर निर्धारण गरिएको समयमा पनि निर्वाचन हुन्छ की हुन्न भन्ने कुरा कोरोना भाइरसको महामारीको अवस्थामा भर पर्ने उनले स्पष्ट पारेका छन् । विश्वमै धेरै जनसंख्या भएका मुलुकहरु मध्ये चौथो देशमा पर्ने इन्डोनेसियामा क्षेत्रीयस्तरको निर्वाचन गर्नु पर्ने बेला भएको हो ।

राज्य सचिवालयको आधिकारीक वेभसाईटमार्फत् बुधबार दिइएको जानकारीअनुसार देशका २७० क्षेत्रमा निर्वाचन गर्नुपर्ने छ ।
ती क्षेत्रमा नौ जना गर्भनर, ३७ जना मेयर र २२४ जना जिल्ला प्रमुख निर्वाचन गर्नु पर्ने वेभसाईटमा उल्लेख गरिएको छ । इन्डोनेसियामा कोरोना भाइरसबाट अहिलेसम्म १२ हजार ४३८ जना सङ्क्रमित भएका छन् । ती मध्ये ३६७ जना पछिल्लो २४ घण्टामा सङ्क्रमित भएका हुन् । त्यसैगरी कुल मृतकको संख्या ८९५ पुग्दा पछिलो २४ घण्टामा २३ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।