साहित्य

बुख्याँचा–तन्त्र

खम्बू चन्द (समीर यात्री)                                                 -कविता

सिंहासनमा चढेपछी बुख्याँचाहरु
वर्जित हुन्छन समवेत स्वरहरु
घेर्छ सर्वत्र सेतो आतंकले
बुख्याँचा शासित परिवेश ।

बुख्याँचा शासनमा
वर्जित छ मानवीयता
कोरोनाको कहर होस
वा चुल्हो निभेको प्रहर होस्
बोल्न बन्चित छ सभ्यता ।

लकडाउनको हुकुम बक्स गर्छ बुख्याँचा
यति होल्डिङ्सको वाइनमा रंगमङ्गिदै
ज्युनार गरेर मार्सी भुजा
निदाउँछ ओम्नीको काखमा
शिरानी राखेर करोडौं कमिसनको तकिया,
लठ्ठिदै शितलनिवासको सौन्दर्यमा
हराउँछ हप्तादिन रोमान्चक सपनीमा
र, ब्युझेर थप्छ हप्तैपिच्छे अर्को एक हप्ता ।

प्रवाह छैन उसलाई
चुल्हो निभेका दुखीजनको
अपराधी लाग्छन उसलाई
राहतका पन्तुराहरु
वर्जित हुन्छन मानवीय मनहरु
र, थुनिन्छन् उपकारी हातहरु ।

पृयजनहरु,
विदितै छ,
काण्डैकाण्डको रचनाकार हो बुख्याँचा
चनाखो बन्नै पर्नेछ हमेशा
सतर्क हुनै पर्नेछ हरपल,

आफ्नो कबिताको रक्षार्थ
कडा पहरा दिनुपर्नेछ कविहरुले
चोरिन सक्छन कविताहरु
र छापिन सक्छन बुख्याँचाकै नाममा,

जतनकासाथ जोगाउनु पर्नेछ चेलीहरु
बलात्कृत हुन सक्छिन्
वा हत्या गरिन सक्छिन्
बुख्याँचातन्त्रमा
फुक्काफाल छन्
हत्यारा र बलात्कारीहरु,

आफ्ना सांसदहरु बचाउन्
दह्रो ड्युटी दिनुपर्नेछ दलहरुले
अपहरित हुन सक्छन्
वा धम्की खान सक्छन्
बुख्याँचाराजमा
मालामाल छन्
गुण्डानाइके र अपहरणकारीहरु,

जोगाउनुपर्नेछ राष्ट्रसेवक कर्मचारी,
कमिशनको मेसो बिगारिदिए वापत
फर्जी आरोपमा दण्डित गरिन सक्छन्
वा हतोत्साहित पारिन सक्छन्,

बचाउनुपर्नेछ रास्ट्रसेवक बिशेषज्ञ
सत्य सूचना प्रवाह गरे बापत
मिथ्या आरोपमा हुर्मत लिइन सक्छ
वा कार्वाहीको भागीदार बनाइन सक्छ ।

जोगाउनै पर्नेछ देशभक्त सुरक्षाकर्मीहरु
सनक(स्वार्थको आदेशमा
बुटहरु नबजारे वापत
ब्रीफ्केसको कोशेली नटक्र्याए वापत
कुनै अभियोगको भागीदार बनाइन सक्छ
वा बृत्तिविकासमा धाँधली हुनसक्छ ।

सिंहासनमा चढेपछी बुख्याँचाहरु
वर्जित हुन्छन समवेत स्वरहरु
घेर्छ सर्वत्र सेतो आतंकले
बुख्याँचा शासित परिवेश ।