प्रदेश 1

कोशी अस्पतालमा उपचाररत ६ कोरोना संक्रमीत भए निको, आजै गरियो डिस्चार्ज

२४ बैशाख काठमाडौं । कोशी अस्पतालमा उपचाररत ६ जना कोरोना संक्रमीत निको भएका छन् । पछिल्लो पटक गरिएको तीनवटा परीक्षणमा कोरोना भाइरस संक्रमण नदेखिएपछि उनीहरुलाई आज (बुधबार) बिहान डिस्चार्ज गरिएको हो । 

कोरोना भाइरस संक्रमणपछि विराटनगरमा उपचार गराइरहेका ६ जना भारतीय नागरिक निको भएर आजै डिस्चार्ज भएका हुन् । अस्पताल परिसरमा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले विदाइ गरेका हुन् । डिस्चार्ज भए पनि उनीहरुलाई अझै एकसाता विराटनगरमै स्वास्थ्यकर्मीको निगरानीमा राखिनेछ ।

उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका भारतीय जमातीमध्ये ५ र ६ वैशाखमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुमध्ये ६ जना निको भएर डिस्चार्ज भएका हुन् । उनीहरुलाई फूलका गुच्छा दिएर विदाई गरिएको छ ।

विराटनगरको कोरोना विशेष अस्पतालमा ३१ जना उपचाररत छन् । विराटनगरको कोरोना विशेष अस्पतालमा उदयपुरमा संक्रमण पुष्टि भएका मात्र २८ जना उपचार गराइरहेका छन् । बाँकी ३ जनामध्ये दुईजना झापा र एक जना भोजपुरका छन् ।