कृषि

प्रदेश पाँचः कृषकलाई मल र बीउको चिन्ता

लमही, २३ वैशाख । यतिबेला दाङका कृषक बीउ र मल जुटाउन लागिपरेका छन् । कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन गरिएका कारण समयमा मल र बीउ नपाउने चिन्ता कृषकलाई छ । हिउँदे बाली गहुँ, तोरी, मसुरो भित्र्याएका किसान बर्खे खेतीका लागि मल र बीउको अभाव हुने डरले अहिलेदेखि नै जोहो गर्ने तयारीमा लागेका हुन् । समयमै वर्षा भएपछि खेतबारी जोतेर कृषक मकै र तरकारी बाली लगाउने तयारीमा छन् तर लकडाउनका कारण बीउ र मल जुटाउन भने समस्या भएको उनीहरु बताउँछन् ।

कृषकले बजारका विभिन्न एग्रोभेटमा बर्खे तरकारी बोडी, सिमी, काँक्रा, लौका तथा मकैको बीउ तथा रासायनिक मलको खोजीका लागि दौडधूप गरेका छन् । ‘‘ बारी जोतेर तयार छ, मकैको बीउ किन्न बजार आएको हुँ बजार भने बन्द रहेछ’’, बीउ र मल खोज्न आउनुभएका कृषक सुन्दरकुमार चौधरीले भने । उनले घरमा अदुवा, बेसार र पिँडालु लगाउनाका साथै गोठेमल बोकेर सकिएकाले अब मकै रोप्ने तयारी गरिएको बताएका छन् ।

कृषक आकाश वलीले मकै र धान बालीका लागि मलको जोहो गर्न लागिएको बताएका छन् । ‘‘रासायनिक मल त बजारमा छ भन्छन् तर लकडाउनका कारण कसरी ल्याउने हो । समस्या छ’’ उनले भने । उनले जस्तै कृषक माया पुनले पनि बजारबाट मकैको बीउ किनेर ल्याएको र अब मकै लगाउने तयारी गरिएको बताएका छन् । पुनले बिहान बजार खुलेका समयमा एग्रोभेटबाट तरकारी र उन्नत मकैको बीउ ल्याएका छन् ।

लकडाउनका कारण बजारका एग्रोभेट बन्द हुुँदा मकैको बीउ खरिद गर्न नपाइएको कृषक रमेश केसीले गुनासो गरेका छन् । बिहान अत्यावश्यक पसल खोल्न दिने निर्णयसँगै एग्रोभेट पसल आंशिक रुपमा खुले पनि धेरैजसो बन्द छन् । जिल्लाका कृषकले जेठको पहिलो सातादेखि मकै छर्न शुरु गर्ने तयारी गरेका छन् ।

यस वर्ष लकडाउन भए पनि हालसम्म रासायनिक मलको अभाव देखिएको छैन । अनुदानको मल ढुवानी र वितरणको जिम्मा लिएको कृषि सामग्री लिमिटेडले जिल्लामा रासायनिक मल प्राप्त भएको र सहकारीलाई दैनिक मल वितरण गर्दै आएको लिमिटेड तुलसीपुरका प्रमुख तीर्थ न्यौपानेले जानकारी दिएका छन् ।

मकै बाली लगाउने समय शुरु भएको र कृषकले पनि त्यसको तयारीस्वरुप बीउ र मलको जोहो गर्न थालेको कृषि प्राविधिक माधव केसी बताएका छन् । यता स्थानीय निकायमा रहेका कृषि सेवा केन्द्रले पनि किसानका लागि अनुदानमा मकैको बीउ धान वितरणका लागि तयारी गरेका छन् । केन्द्रले कृषकलाई आवश्यक पर्ने बीउका लागि लगत संकलन गरेको र केही दिनभित्र ५० प्रतिशत अनुदानमा वितरण गर्ने तयारी गरेको जनाइएको छ ।

गहुँ बिक्री गर्दै किसान

राजापुर– बर्दियाको राजापुरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गहुँ खरीद शुरु गरेको छ । स्थानीय प्राथमिक खरीद समितिको निर्णयानुसार सामाजिक दूरी कायम गरेर गहुँ खरीदका लागि काँटा लगाइएको छ । स्थानीय खरीद समितिको बैठक बसेर खरीद शुरु गरिएको काराखानाका प्रमुख रेवन्त रावलले बताएका छन् ।

यस वर्ष राजापुरमा १० हजार क्विन्टल गहुँ खरीद गरिने प्रवक्ता शर्मिला न्यौपानेले बताए । बन्दाबन्दीका समयमा सामाजिक दूरी कायम गरेर सावधानीपूर्वक खरीद थालिएको कम्पनीले जनाएको छ ।

प्युठानमा मकै रोप्ने चटारो

झिमरुक– प्युठानका किसानले मकै रोप्न शुरु गरेका छन् । केही समयअघि गहुँ भित्र्याएका यस क्षेत्रका किसानले अहिले मकै रोप्न थालेका हुन् । लकडाउनका समयमा सरकारले परिवारको सहभागितामा अन्नबाली भित्र्याउन र लगाउन छुट दिएसँगै जिल्लाका किसान खेती लगाउन व्यस्त भएका हुन् ।

लकडाउनका कारण मकैको बीउ वितरण गर्न नसकिए पनि किसानले मकै छर्न शुरु गरेको ऐरावती गाउँपालिका कृषि शाखा प्रमुख सरोज घर्तीले बताएका छन् । पहाडी क्षेत्र भएकाले यहाँ मनकामना ३, देउती, शीतला, मनकामना ५ लगायत पोषिलो जातका मकै लगाइन्छ ।

नौबहिनी गाउँपालिकाका केही क्षेत्रमा यसभन्दा पहिले नै मकै छरिए पनि अन्य स्थानीय तहमा यस समयमा छर्न शुरु गरिएको हो । आकाशे पानीमा निर्भर हुने हुनाले वैशाख पहिलो हप्तादेखि जेठको पहिलो हप्तासम्म मकै छर्ने समय रहेको शाखा प्रमुख घर्तीले बताए । जिल्लाका किसानले परम्परागत साधन (हलो) र आधुनिक प्रविधिको मिनिटिलरका माध्यममार्फत मकै रोप्न थालेका छन् ।

गोरु हलोको सट्टा किसान आधुनिक प्रविधितर्फ आकर्षित भएको प्युठान नगरपालिका –७ टिकुरीका पृथ्वी एग्रोभेट सेन्टरका सञ्चालक वासुदेव थापाले बताएका छन् । मिनिटिलरमार्फत सहज र समयको समेत बचत हुने भएकाले यसबाटै मकै रोप्ने काम गरिएको मल्लरानी गाउँपालिका–४ कसेरीका किसान दामोदर शर्माले बताउनुभयो । जिल्लाका नौ वटै स्थानीय तहका किसान पछिल्लो समय प्रविधिसँग जोडिएका छन् ।

गोलभेडा बिक्री भएपछि खुशी

कपिलवस्तु– बोटमै कुहिएर खेर गइरहेको गोलभेँडा बिक्री हुन थालेपछि यहाँका कृषक खुशी भएका छन् । लकडाउनका कारण बोटमै खेर गइरहेको गोलभेँडा बाहिरी जिल्लामा पठाउने व्यवस्था भएपछि कृषकको समस्या टरेको छ । दैनिक सय क्विन्टल गोलभेँडा जिल्ला बाहिर निकासी भइरहेको कृषक गणेश चौहानले बताएका छन् । अहिले दैनिक एक ट्रकभन्दा बढी गोलभेँडा रुपन्देही, अर्घाखाँची, पाल्पा, कास्कीलगायत जिल्लामा निकासी भइरहेको अर्का कृषक राधेश्याम मुराउले जानकारी दिएका छन् ।

पाल्पाबाट युवा संघले दैनिक रुपमा गोलभेँडा किन्नका लागि कपिलवस्तुको केवलपुरमा ठूलो ट्रक ल्याउने गरेको छ । यस्तै अन्य व्यापारीले डिसिएम गाडी ल्याई गोलभेँडा किनेर लैजाने गरेको कृषक मुराउले बताए । केवलपुर, धनकोली, राजपुर, भलवाड, बाणगंगा लगायत विभिन्न स्थानमा उत्पादित गोलभेँडा धमाधम जिल्ला बाहिर निकासी भइरहेको अगुवा कृषक बालदीन केवटले जानकारी दिएका छन् ।