गण्डकी प्रदेश

तनहुँमा ९६ युनिट रगत सङ्कलन

तनहुँ,२३ वैशाख । लकडाउनसँंगै जिल्लाम रगत अभाव भएपछि तनहुँमा रक्तदान तीव्र पारिएको छ । अस्पतालमा रगत अभावपछि एक हप्ताका अवधिमा विभिन्न संघसंस्थाले रक्तदान कार्यक्रम गरी ९६ युनिट संकलन गरेका छन् । सिद्धार्थ सहकारी संस्था दुलेगौँडाले ३६, प्रोगेसिभ इञ्जिनियर एशोसियशन अफ नेपाल ९पिन०ले ३० र जेसिआई व्यासनगरले ३० युनिट गरी रक्तदानमार्फत ९६ युनिट ब्लड संकलन गरेका हुन् ।

सिद्धार्थ सहकारी संस्था दुलेगौँडाले संस्थाको छैटौँ स्थापना दिवसका अवसरमा सोमबार रक्तदान कार्यक्रम गरेको सहकारीका प्रबन्धक जोसेफ देवकोटाले बताएका छन् । नेपाल रेडक्रस सोसाइटी कास्कीको प्राविधिक सहयोगमा भएको कार्यक्रममा सहकारीका शेयर सदस्यले रक्तदान गरेका हुन् ।

डायलाइसिसका बिरामीलाई ? एक हजार

शुक्लागण्डकी नगर कार्यपालिकाले नगरपालिकाका मिर्गौला डायलाइसिसका नौ बिरामीलाई डायलाइसिसका दिन प्रतिव्यक्ति रु एक हजार प्रदान गर्ने भएको छ । नगरपालिकाको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो । दमौली अस्पतालमा विसं २०७२ मंसिर २ गतेदेखि शुरुआत गरिएको डायलाइसिस केन्द्रबाट दैनिक ४१ पुरुष र २७ महिला गरी ६८ बिरामीलाई डायलाइसिस सेवा दिइँदै आएको शत्रुध्न मञ्जु डायलाइसिस केन्द्र दमौली शाखाका प्रमुख प्रेमसिं गुरुङले जानकारी दिएका छन् ।

नगरपालिकाभित्र रहेका त्यस्ता बिरामीलाई लकडाउन अबधिभर डायलाइसिस गर्न जाँदा लाग्ने यातायात खर्चबापत रु एक हजारको दरले उपलब्ध गराउने निर्णय भएको नगरपालिकाका प्रवक्ता खिम कुमालले जानकारी दिएका छन् । त्यस्तै वडागत रुपमा छुट एक हजार २९९ परिवारलाई पनि राहत उपलब्ध गराउने भएको छ ।

गण्डकी प्रदेश सरकारको मापदण्डका आधारमा नगरस्तरीय र वडास्तरीय योजना सञ्चालनका लागि आवश्यक निर्माण सामग्री उपलब्ध गराइने भएको छ । नगरपालिकाका हार्डवयर पसल र क्रसर उद्योगमा मौज्दात सामग्री ढुवानीका लागि प्रत्येक दिन बिहान ११देखि दिउँसो १ बजेसम्म पसल खुला राख्ने निर्णय भएको उनले बताए ।

यसैबीच जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन तीव्र बनाएको छ । उपभोक्ताका गुनासा आएसँंगै बजार अनुमन तीव्र बनाइएको हो । सोमबार मात्रै दमौली बजारका तरकारी, फलफूल, खाद्यान्न, बीउ बिजनलगायत पसलको अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले बताएका छन् ।

अनुगमनका क्रममा दुई खाद्यान्न पसलमा गुणस्तरहीन सामान भेटिएकाले परीक्षणका लागि खाद्य गुणस्तर विभागमा पठाइएको उनले बताए ।