पु.समाचार

बाँकेमा कोरोना सङ्क्रमण भेटिएपछि बर्दियामा कडाइ

२२ बैसाख, काठमाडौं । छिमेकी बाँकेको नेपालगञ्जमा कोरोना भाइरसको संक्रमण भेटिएपछि बर्दियामा सुरक्षा सतर्कता बढाइएको छ । जिल्लाको सुरक्षा समितिको आज बसेको बैठकले कोरोना नियन्त्रणका लागि जिल्लामा पूर्ण रुपमा आवतजावत बन्द गर्ने निर्णय गरेको छ ।

प्रदेश नं ५का उपसभामुख कृष्णी थारुको प्रमुख आतिथ्यतामा बसेको बैठकले यही वैशाख २४ देखि अत्यावश्यकबाहेक सबै पसल र व्यवसाय बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी प्रेमनाथ लामिछानेले जानकारी दिए । “यहाँ सुरक्षा व्यवस्था कडा बनाउने निर्णय भएको छ, आवश्यक खाद्य सामग्री र औषधि खरीदका लागि आइतबार, मंगलबार, बिहीबार बिहान ७देखि ११ बजेसम्म पसल सञ्चालन गर्न दिइने छ ”, उनले भने ।

बैठकले जिल्लाको पूर्व, पश्चिम र दक्षिण क्षेत्रमा आवतजावत वन्द गर्न निर्देशनसमेत दिएको जिल्ला समन्वय समीतिका प्रमुख शंकरप्रसाद थारुले बताए ।