विचार/ब्लग

टंकप्रशाद आचार्य

बीरभद्र आचार्य/‘हा’ ‘हा’ ‘हा’। हो त नी! बुवाको त्यो हाँसो ! त्यो हाँसोमानै बुवाको सम्पुर्ण व्यक्तित्व झल्केको हुन्थ्यो । त्यो हृदय देखी निस्कने खुला र विसाल हाँसो । यो देखावटी संसारमा त्यो विशिष्ट हाँसोमा उनको सोझो पन, आर्जव, सत्य प्रतीको निष्ठा र देशप्रतिको इमान्दारीता सवै एकैपटक झल्झलाकार हुन्थ्यो । मुहारमा दैविय चमक ओर्लन्थ्यो । वुवा भावुक, विचारसील, कडक तर उत्तीकै रमाइलो व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ सरलताको त प्रतिक नै हुनुहुन्थ्यो । चारओटा सेतो खोल भएको चकटी भोटे गुन्द्री माथी आमाले मिलाएर राख्नु भएको ।

उहाँको राष्ट्रप्रेम हमेसा देशप्रतीको चिन्तन र हाउभाउमा प्रतीत हुन्थ्यो । विहान उठेदेखि वेलुकी सम्मको चिन्तन नै यो देशलाई कसरी समुन्नत बनाउने । अन्य कुनै विचारले ठाउँ पाउँदैन थियो उहाँको मन मस्तिस्कमा । बुवाको पलङभरी कितावको ठेली हुन्थ्यो । उहाँ दार्शनिक कितावहरु पढ्न वढी रुचाउनु हुन्थ्यो । वायोग्राफीमा नेपोलियनको किताव सार्है मनपर्थ्यो । विहानै देखी आगन्तुकको ताँती हुन्थ्यो । दिनभर आगन्तुकसंग विभिन्न विषयमा चिन्तन मनन् हुन्थ्यो । विहान सबेरै उहाँको ध्यानगर्ने वेलामा जो कोही आइपुगे बरण्डामा कुर्नुपर्ने हुन्थ्यो । तत्कालिन प्रधानमन्त्री, राजपरिवारका सदस्य समेतले वरण्डामा कुरेको याद छ । बुवाले तत्कालीन समयको सासकहरूप्रती आफ्नो असन्तुष्टी जो कोहिको पनि अगाडि निर्भिक भएर राख्नु हुन्थ्यो । राजाकै अगाडी पनि यो दोहोरिएको मेरो एकपटकको अनुभव छ । मेरो विवाहको अवसरमा राजा विरेन्द्र र रानी ऐश्वर्यालाई पनि निम्तो थियो । निम्तो मान्न विरेन्द्र राजाको मात्र सवारी भयो । रानी आउनुभएन । बुवाले तत्काल राजालाई भन्नु भयो, “बडामहारानीलाई त म र मेरा कुराहरूसंग एलर्जी छ, किन सवारी हुन्थ्यो त ।“ राजा विरेन्द्र मुसु मुसु हाँसेर बसे । यो थियो मेरो बुवाको मौलिकता र स्पष्टता । धेरै चर्को घामलागे सूर्यले गाली खान्थे, धेरै पानी परे बादलले । कहिले कहिले हामीलाई बोलाउँदा कसैको पनि उत्तर आएन भने “ए भित्ता” भने भित्तासंग रिस पोख्न हुन्थ्यो । यो सवै तत्कालका शासकहरु प्रतीक उहाँको नैरास्यता थियो । हामी साना साना केटाकेटीहरू विध्यालयवाट घर फर्कँदा घरको अगाडीपट्टीको चौरमा बुवालाई भेट्न आउने मानिसहरूले घेरेर राखेको हुन्थे । देशको आर्थिक अवस्था, विश्व राजनीति आदी ईत्यादी । युवालाई हामी आएको गएको केहि पत्तो हुँदैन थियो ।

केटाकेटीको हेरचाह गर्ने जिम्मा पुरापुर आमाले लिनुभएको थियो । आमाले हामी केटाकेटीलाई आज आफ्नो आफ्नो खुट्टामा उभिन सक्ने र यती सम्म पढ्न लेख्नसक्ने बनाएर हुर्काउनु भयो । खाना देखी लिएर पढाउने, लुगाफाटा, वानी बेहोरा सवै आमाको देन हो । बुवाले हामीलाई औँला समातेर हिँड्न त सिकाउनु भएन तर बुवाको रहनसहन, बुवाको आर्जव, सरलता, इमान्दारी आदी हाम्रो अगाडी एक गौरवको विषय थियो, र छ । पैसा त कमाएर राखिदिनु भएन तर एक स्वतन्त्र निडर मानव भएर उव्विन सिकाउनु भयो । थोरैमा र सरल भएर कसरी बाँच्ने एक मिसाल भएर उभिनु भयो । कम पैसामा पनि धनी कसरी हुने भनेर उदाहरण बन्नु भयो । आज वुवाको यी गुणलाई सम्झदै पनि छाती फुकेर आउँछ ।

बुवाको आध्यात्मिक जीवन जहिले पनि कर्मयोग पटीनै ढल्कियो । उहाँको झुकाव त्यती सारो ज्ञानयोग र भक्तीयोग पटी थिएन । यद्यपि उहाँमा गिता, उपनिषदहरूको, गोरक्ष पद्दती, भागवत आदीको ज्ञान थियो । हामीले देख्दा आमाले जहिले पनि बुवालाई भागवत पढेर सुनाइरहनु हुन्थ्यो । वुवा आफैँले पढेको चाहिँ थाहा भएन । उहाँले जोगी वा योगी संग भेट्ने ईच्छा राख्नु हुँदैन थियो । मलाई थाहा भएसम्म योगी नरहरीनाथ घरमा आइरहनु हुन्थ्यो अन्य कोही योगीसँग सम्बन्ध थिएन । एक पटकको कुरा हो, हिमालका योगी खप्तडवावा काठमाण्डौ आउनुभएको थियो । कुन्नी कुन परिवेशमा हो बुवालाई वावाजीसँग भेट्ने मन भएछ । भेट्न त जानुभयो तर फर्कँदा रिसले आगोजस्तो भएर घर आउनु भयो । कसैले केहि सोधेनन् । पछि कुरा खुल्दै जाँदा थाहा भयो । बुवाले नेपालको तत्कालीन अवस्था दर्शाएर र समाजमा पुराना नैतिक आधारहरू गुमहुनु र कुरितीहरू भित्रिँदै गएको अवस्थामा स्वामीजीको आसिर्वादले कसरी यो अवस्थालाई सुधारगर्न सकिन्छ भनेर राखेको प्रश्नमा, वावाजीले बुवालाई “जौ” “जौ” आफ्नो जीवन सुधार गर अर्काको जीवन सुधार्ने तिमी को हौ र । समाजलाई समय र प्रकृतिले आफैँ सुधार गर्छ ।

तव त बुवाको ब्रह्माण्ड खलबलिएछ । गोलीले भन्दा चर्को बोलीले घाईते बनाएछ । यो भनाईलाई आधारलिने हो भने बुवाको सम्पुर्ण जीवनको काम त खेर पो गएछ । कर्मयोगी ले ज्ञानयोगीको झापड खाएछ । समय वित्दै गयो, जीवनमा यी कुराहरू गौणहुँदै गए । दैनिक चर्या एउटै थियो । विहान उठ्ने, नुवान धुवाई गर्ने र ध्यान गर्ने अनी एकैछिन पुजाकोठामा शालिग्रामको पुजा गर्ने । म पनि सँगै हुन्थे । एउटा गोलो शालिग्राम थियो । त्यो पखाल्ने बेलामा बुवाको हातबाट झरेर खुर्रर्र गुडेर अलिपर गएर अडिन्थ्यो । अनि युवालाई खुब रिसउठ्थ्यो र शालिग्रामलाई हप्काउने थाल्नु हुन्थ्यो । “यीनलाई के पुजा गर्नु, अर्काले समातेर नुहाईदिनु पर्ने, आफ्नो खुट्टामा आफैँ उभ्भिन नसक्ने नाथे ।” तर श्रद्धा पुर्वक नित्य पुजा गर्नुहुन्थ्यो र भगवानको प्रार्थना गर्नु हुन्थ्यो ।

२०४६ साल आयो पन्चायती व्यवस्था गयो उनका सहयोद्दाहरूले देशको शासन सत्ता सम्माल्न थाले । तर यीनै जीवनभरका साथीहरूले बुवाको त्यत्रो योगदानलाई अवमुल्यन गर्न थाले । घरमा आवत जावत वन्द गरे । पन्चयतकालीन मन्त्रीको घरमा गएर नेताहरूले रक्सी पिउँथे तर टँकप्रशादलाई पुर्णरुपमा उपेक्षा गर्न थाले । तर समय चक्र न हो । जव गिरीजाप्रसाद कोईरालाले किसुनजी र गणेशमानजीलाई पन्छाए तव गणेशमानजी एकदुई पटक बुवालाई भेट्न आउनु भयो । तर यीनै कारणले होला बुवामा जीवन प्रतीको बैराग्य जन्मायो । करिव ७९ बर्षको हुनुहुन्थ्यो, एकदिन मलाई बोलाउनु भयो । “ए साना कान्छा, एता आइज त” । म गएँ र पलैँटी कसेर बुवाको छेउको चकटीमा बसेँ । अनी धेरै अगाडिको खप्तड स्वामीसंगको अनुभव सुनाउनु भयो र भन्नु भयो “वावाजीले सहि थिए । म मा अज्ञान थियो” । “यो संसारमा राम आए, कृष्ण आए, बुध्द, जिसस क्राईष्ट, मोहमद आदी अनगिन्ती समाज सुधारकहरू आए तर हेर त समाज कहिले पनि सुध्रिन सकेन । आज भन्दा विस वर्ष अगाडिमात्र पनि हर्ने हो भने मानिसको नैतिकतामा कति ह्रास आइसकेको छ । त्यसैले समाजलाई सुधार्ने तर्फ लाग्ने भन्दा पनि आफुलाई सुधार्न पर्दो रहेछ जस्ले गर्दा हामी यो श्रृस्टीको भार नभएर पृथ्वीको एक सपुत हुनसक्ने रहेछौं । संसार र समाज आफैँ बदलिँदै जान्छ । आफ्नो आत्माको आवाजलाई पछ्याउनु र समाजमा सुसभ्य र परिस्कृत कर्मयोगीको जीवन बिताउनु । तर आफुले गरेको कामले जादुई परिवर्तन ल्याउँछ भनेर आशा नगर्नु ।

वुवा त ८१ वर्षको उमेरमा वित्नु भयो । तर हाल विश्व कोरोना भाइरसले आक्रान्त छ । यदी यो महामारीले मानिसको सोचमा सकारात्मक परिवर्तन ल्याउन सक्यो यो एउटा ठुलो शिक्षा हुनसक्छ । दुःखको कुरो छ, हो मानिस मरेका छन् जसलाई रोक्न केही उपाय हालसम्म छैन । तर आज प्रकृतिले आफुलाई मानवले गरेको दोहनले हुनगएको क्षतीलाई सच्याएर फेरी एक पटक ठिक वाटोमा ल्याइ सकिन् । यदी आजको विश्व अर्थ व्यवस्थालाई सुधार गरेर प्रकृतिलाई विनास गर्दै सम्पत्ती आर्जन गर्ने परिपाटी हटाएर “सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामया” को सिद्दान्त अँगाल्ने हो भने यो संसारले फेरी एकपटक शत्य युगमा प्रवेस गर्ने छ ।

(बीरभद्र आचार्य पुर्ब प्रधानमन्त्री एबम् ज्यूँदा सहिद टंक प्रशाद अचार्यका सुपुत्र हुन् ।)