पु.समाचार

हालसम्म ६४ हजार बढी व्यक्तिमा कोरोना परीक्षण: स्वास्थ्य मन्त्रालय

२२ बैसाख, काठमाडौं । मुलुकभर हालसम्म पिसिआर र आरडिटी प्रविधिबाट गरी कूल ६४ हजार ४८५ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको परीक्षण गरिएको छ । त्यसमध्ये पिसिआर प्रविधिबाट १३ हजार ६४० र आरडिटी प्रविधिबाट ५० हजार ८४५ जनामा कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले गत २४ घण्टामा मुलुकभर थप एक हजार ३८२ जनामा कोरोना परीक्षण गरिएको जानकारी दिए । आरडिटी प्रविधिबाट हालसम्म प्रदेश नं १ मा पाँच हजार ८३७, प्रदेश नं २ मा पाँच हजार ७३६, वाग्मती प्रदेशमा आठ हजार ६१०, गण्डकी प्रदेशमा पाँच हजार ८८२, प्रदेश नं ५ मा चार हजार ८३१, कर्णाली प्रदेशमा पाँच हजार ८१३ र सुदूरपश्चिम प्रदेशमा १४ हजार १३६ जनामा कोरोना परिक्षण गरिएको छ ।

मुलुकभर हाल जम्मा २१ हजार ५२३ जना क्वारेटाइनमा रहेका छन् भने आइसोलेशनमा रहेका सम्भावित सङ्क्रमित तथा बिरामीको सङ्ख्या कूल १०६ रहेको प्रवक्ता देवकोटाले जानकारी दिए । त्यसमध्ये काठमाडौँ उपत्यकामा एक र उपत्यकाबाहिर १०५ जना आइसोलेशनमा रहेका छन् । मन्त्रालयका दुई वटा कल सेन्टर १११५ र ११३३ मा गत २४ घण्टामा एक हजार ८७६ स्वास्थ्य जिज्ञासासम्बन्धी कलहरु प्राप्त भएका र स्वास्थ्यकर्मी तथा चिकित्सकबाट त्यसको उत्तर दिइएको उनले बताए ।

यसैगरी मन्त्रालयको वेभपेज र मोबाइल एपमा पछिल्लो २४ घण्टामा ४८४ आफ्नो स्वास्थ्य विवरण ‘इन्ट्री’ गराएका छन् भने त्यसबाट थप सात जना ‘रेडजोन’मा परेका छन् । रेडजोेनमा परेका व्यक्ति भनेका सम्भावित सङ्क्रमित व्यक्ति हुन । जसलाई प्रदेशका स्वास्थ्य निकाय र मन्त्रालयको ईपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले टे«सिङको कार्य गरिरहेको उनले बताए ।

सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य मुलुकभर कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या हाल ७५ पुगेको छ । त्यसमध्ये ५८ जना पुरुष र १७ जना महिला रहेका छन् । सङ्क्रमितमध्ये ५९ जना उपचारमा रहेका र बाँकी निको भई घर फर्किसकेका छन् । उपचारमा रहेका सबैको स्वास्थ्य स्थिति सामान्य रहेको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना सङ्क्रमित देखिएकामध्ये प्रदेश नं १ मा ३१, प्रदेश नं २ मा १३, वाग्मती प्रदेशमा ७, गण्डकी प्रदेशमा दुई, प्रदेश नं ५ मा १७, कर्णाली प्रदेशमा शून्य र सुदूरपश्चिम प्रदेशमा पाँच जना रहेका छन् ।

प्रवक्ता देवकोटाले केही दिनयता मुलुकका विभिन्न क्षेत्रमा कीटनाशक औषधिका झोलले ‘स्प्रे’ गरी ‘डिसइन्फेक्टेड’ गर्ने गरिएको देखिएको बताउँदै त्यस्तो झोल सिधौ मानिसको शरीरमा छर्किदा हानिकारक हुनसक्दछ भने। उनले तोकिएको मापदण्ड पूरा गरी सही तरिकाले स्प्रे गरिएमा भने यसको प्रयोगले भूईँ र सतहलाई भने निसङ्क्रमण गर्न सकिने जानकारी दिए । कोरोनाको सङ्क्रमणबाट जोगिने सबैभन्दा सरल र उप्रभावकारी उपाय भने पटकपटक २० सेकेन्डसम्म मिचिमिची साबुन पानीले हात धुने र लकडाउनको पूर्ण पालना गरी सामाजिक दूरी कायम गर्नु नै हो ।