पु.समाचार

काँग्रेसद्वारा सहीद खगेन्द्रराज दाहालका पिता को निधनमा दुःख व्यक्त

२० बैसाख, काठमाडौं । नेपाली काँग्रेसले शहीद खगेन्द्रराज दाहालका पिता एवं पार्टीका अग्रज डिल्लीप्रसाद दाहालको निधनप्रति दुःख व्यक्त गरेको छ । ओखलढुङ्गा, मुलुङ गाउँपालिका–२ रामपुर निवासी डिल्लीप्रसाद दाहालको ९९ वर्षको उमेरमा यही वैशाख १३ गते काठमाडौँको शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचारका क्रममा निधन भएको थियो ।

काँग्रेस सभापति शेरबहादुर देउवाले आज एक शोक विज्ञप्तिमार्फत उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याउनुभएको सक्रिय भूमिकाको स्मरण गर्दै उहाँप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । साथै सभापति देउवाले उहाँको आत्माको चिर शान्तिको कामना गर्दै सम्पूर्ण शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

खगेन्द्रराज दाहाल विसं २०३१ असोज १३ गते काठमाडौँको केन्द्रीय कारागारबाट नख्खु कारागार सार्ने बहानामा नख्खुको ओरालोमा मारिनुभएको थियो । तत्कालीन निरङ्कुश पञ्चायती व्यवस्थाले खगेन्द्रराज दाहालसँगै लीलानाथ दाहाल, ठगीराम दाहाल र गोकर्णबहादुर कार्कीलाई कारागार सार्ने बहानामा मारेको थियो ।

सभापति देउवाले स्व डिल्लीप्रसाद दाहालको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको छ र अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् । स्व दाहालको श्रीमती, दुई छोरा र तीन छोरी छन् ।