समाचार

आज मुलुकका विभिन्न स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

२० बैशाख काठमाडौं । देशभरको मौसम शनिबार आंशिकदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशका मध्य पूर्वी क्षेत्रमा पूर्ण बदली रही पश्चिमी भू–भागमा आंशिक बदली रहेको मौसमविदले बताएका छन् । पूर्वी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।

स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभावका कारण देशभरको मौसम बदली भएको हो । यस्तै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरेको मौसमविदले बताएका छन् । शनिबार दिउँसो मध्य र पूर्वी भू–भागका साथै पश्चिमी पहाडी क्षेत्रमा सामान्य बदली रही अन्य क्षेत्रमा आंशिक बदली हुनेछ ।

पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिनासहित वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिए । पश्चिमी र पूर्वी तराईमा हावाहुरीको सम्भावना रहेको छ ।

राति पहाडी भू–भागमा सामान्य बदली तथा पूर्वी तराईका क्षेत्रमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने जनाइएको छ । पश्चिमी र पूर्वी पहाडी भू–भागका केही स्थान र मध्य क्षेत्रका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिनासहित वर्षाको सम्भावना रहेको छ ।