प्रवास

सम्पूर्ण संयन्त्र परिचालन गरेर राहत वितरण गर्नुपर्छः अध्यक्ष पन्त

१९ बैसाख, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अमेरिका क्षेत्रीय बैठक सम्पन्न भएको छ । कोरोना महामारीले अमेरिका क्षेत्रमा प्रभावित गैरआवासीय नेपालीको समस्याका बारेमा छलफल गर्न आयोजित बैठकमा सो क्षेत्रका करीब ५० सहभागीले आआफ्नो विचार राखेका थिए ।

टेलिफोन कन्फेसमार्फत भएको बैठकलाई सम्बोधन गर्दै एनआरएनएका अध्यक्ष कुमार पन्तले धेरै नेपाली संक्रमित भएपछि नेपाल सरकारको उपस्थिति नभएका देशमा समेत संस्थाले सरकारसँग समन्वयन गरेर अगाडि बढेको जानकारी दिए । एनआरएनका अनुसार संक्रमणबाट ५० भन्दा बढी गैरआवासीय नेपालीको निधन भएको र दुई हजार पाँच सयभन्दा बढी नेपाली कोरोना संक्रमित भएका छन् ।

अध्यक्ष पन्तले सबैभन्दा ठूलो समस्या विद्यार्थी र श्रमिकमा रहेको बताउँदै महामारीपछि आर्थिक तथा सामाजिक क्षेत्रमा पर्ने प्रभावका बारेमा संस्थाले दीर्घकालीन रणनीति बनाउने तयारी गरेको जानकारी दिए । उनले सबै मिलेर जान र सबै संयन्त्र परिचालन गर्न पनि आग्रह गरे ।

क्यानडाका लागि नेपाली राजदूत भृगु ढुंगानाले कोभिड–१९ शुरु भएदेखि नै नेपाली राजदूतावासले स्वास्थ्यसम्वन्धी गतिविधि शुरु गरेको र महामारीका अवस्थामा पनि सेवाग्राहीलाई दिइने सेवा थप प्रभावकारी बनाइएको बताए । राजदूत ढुंगानाले क्यानडामा रहेका नेपालीको समस्याका विषयमा क्यानडा सरकारसँग समेत छलफल भइरहेको जानकारी दिए ।
संयुक्त राज्य अमेरिकका लागि नेपाली राजदूत डा अर्जुन कार्कीले अमेरिकामा रहेका नेपालीको समस्याका बारेमा अमेरिकी सरकारलाई जानकारी दिइएको तथा कोरोना संक्रमण शुरु भएदेखि नै एनआरएनसँग सहकार्य गरेर अगाडि बढेको बताए ।

म्यारील्यान्ड क्षेत्रका विधायक ह्यारी भण्डारीले कोरोना भाइरसका कारण निधन भएका नेपालीका परिवारलाई आफूले सक्दो सहयोग गरेको जिकिर गरे ।

एनआरएनका महासचिव डा हेमराज शर्माले महामारीविरुद्ध लड्न विभिन्न संघसंस्था, नेपाली दूतावास र गैरआवासीय नेपालीबीच संयुक्त कार्यदलमार्फत काम थाल्न जोड दिए ।

उनका अनुसार संस्थाले कोरोना भाइरस प्रभावित ४५ देशमा नौ सयभन्दा बढी स्वयंसेवक खटाएर ३० हजारभन्दा बढीलाई राहत दिएको छ । उहाँले अन्तरराष्ट्रिय लकडाउन खुलेपछि नेपाल फिर्तीका लागि प्रक्रिया शुरु हुने बताए ।

एनआरएनए स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाले कोभिड–१९ पछि अमेरिकामा ७५० र क्यानडामा १६० गैरआवासीय नेपालीलाई स्वास्थ्यसम्वन्धी सल्लाह दिइएको जानकारी दिँदै कोरोना भाइरसको संक्रमण अझै नियन्त्रणमा नआएकाले अझ थप चार हप्ता लकडाउन आवश्यक हुने विचार राखे ।